सल्यान, १९ फागुन । एउटा सुतेको वेला अर्काे जाग्राम बस्छ । अर्काे सुतेको वेला तेस्रो जाग्राम बस्छ । यो कनै सुरक्षाकर्मीको डिउटी पनि होइन । यो हो सल्यान जिल्ला कारागारका कैदीबन्दीहरुको वाध्यता । क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो ।

karagar pic‘हामी अहिले धेरै छौँ, त्यसैले राति सुत्न पनि पाइँदैन’, ७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने, ‘पालो लगाएर सुत्न पर्छ ,पालो कहिलै दिउँसो पर्छ कहिले राति ।’ यसरी पालो गरेर सुत्नुपर्दा निकै कठिन हुने गरेको उनले बताए ।

यस्तै अर्का कैदीको गुनासो पनि उस्तै रहेको छ । ३२ वर्षीय धनबहादुर बुढाले पनि यसरी पालो लगाएर सुत्न पर्दा समस्या हुने गरेको बताए ।
‘यहाँ सुत्न समेत पालो कुर्न पर्छ ,आफ्नो पालो राति परेको बेला त केही हुँदैन तर दिउँसो सुत्न परेको बेला भने साह्रै अप्ठेरो हुन्छ’ उनी बन्छन् ।

जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले २५ जनाको क्षमता रहेको कागारमा अहिले १ सय २ जना कैदी बन्दी बढेपछि पालो गरेर सुत्नु पर्ने बाध्यता रहेको स्वीकारे । उनले भने ‘रात परेपछि ४० जना कैदी सुत्छन्, दिउँसो पनि ४०–४२ जना पालो लगाएर सुत्ने गरेका छन ।’

अहिले कारागारमा एक बालकसहित १ सय २ जना कैदीबन्दी रहेकोमा ८८ जना पुरुष र १४ जना महिला रहेको जेलर केसीले जानकारी दिए । जसमा थुनुवामा ४२ जना पुरुष र ८ जना महिला रहेका छन् ।