दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघलाई घोराहीका युवा व्यवसायीहरूले १८ बुँदे माग तथा सुझाव पत्र बुझाएका छन् । सोमबार संघमा पुगेको व्यवसायीको टोलीले उद्योग बाणिज्य संघको सुधार, पारदर्शिता र समावेशिता सम्बन्धी उक्त माग तथा सुझाव पत्र बुझाएको हो ।

व्यवसायीको तर्फबाट पेस गरिएको पत्रमा निर्वाचनका बेला तीनवटै टिमले व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्नेदेखि आर्थिक पारदर्शिता, सदस्यता प्रणाली सुधार, महिला सहभागिता र डिजिटल सेवासम्मका विषयहरुलाई समेटिएको छ । माग पत्र पेश गर्दै टोलीले संघलाई ३० दिनभित्र लिखित जवाफ उपलब्ध गराउन पनि भनेको छ ।

संघका पूर्व उद्योग उपाध्यक्षसमेत रहेका अनिल आचार्यले माग पत्रबारे जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष ध्रुवकुमार गहतराजले व्यवसायीले उठाएका मागमाथि कार्यसमितिको बैठकमा छलफल गरेर अघि बढ्ने बताएका थिए । संघलाई पारदर्शी बनाउँदै उद्योगी व्यवसायीको हक–हितका लागि काम गर्ने विषयमा शंका नगर्न उनले आग्रह गरे ।