सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशको सरकारले आज विश्वासको मत लिएको छ । मुख्यमन्धी महेन्द्रबहादुर शाहीले आफ्नो सरकारका लागि केही पक्ष र कोही विपक्ष नरहेको भन्दै सिंगो प्रदेशबाट नै विश्वासको मत दिन आग्रह गरेकोमा ३२ मत पाएको छ ।
सत्तारुढ वाम गठबन्धनका ३२ सांसदले प्रस्तावको पक्षमा मतदान गरे भने कांग्रेसका ५ र राप्रपाका एक सांसदले विपक्षमा मत जाहेर गरेका थिए । मुख्यमन्त्री शाहीले आफ्नो सरकारका लागि पक्ष विपक्ष नभएर सिंगो प्रदेशसभाबाट विश्वासको मत दिन आग्रह गर्दै प्रस्ताव पेस गरेका थिए । एमालेका संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले विकास र समृद्धितर्फको यात्रा अघि बढाउनुपर्ने भन्दै समर्थन जनाएका थिए ।
तर प्रमुख प्रतिपक्ष कांग्रेसका नेता जीवनबहादुर शाहीले भने सिंगो प्रदेशसभाले समर्थन गरे सरकार तानाशाह बन्ने तर्क गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।