बाँके, १४ फागुन । चालु आर्थिक वर्ष २०७४ ७५ को माघ मसान्तसम्म नेपालगञ्ज उपमहानगरपालिकाले ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ । गएको आवमा सोही अवधिसम्म ४ करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो ।
यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको छ । राजश्व शाखाका अनुसार माघ मसान्तसम्म नक्सापास दस्तुरबाट रु एक करोड २८ लाख ४७ हजार ३०३ राजश्व संकलन गरिएको छ ।
गत वर्ष बनिसकेका घर प्रमाणित गर्नेको संख्या बढी भएका कारण सो अवधिमा बढी राजश्व उठेको उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माको भनाइ छ । नगरका साबिकका १८ देखि २८ सम्मका वडालाई घर नक्सा प्रमाणितमा छुट दिइएको छ ।
उपमहानगरपालिकाका अनुसार आव ०७४ साउनदेखि माघ मसान्तसम्म नक्सा दर्ता ७१३, प्लिन्थ लेवल स्वीकृति २२८, सुपर स्ट्रक्चर इजाजत ३३१, नयाँ घर निर्माण २२६ र पुरानो घरको प्रमाणित २९५ वटा गरिएको छ ।
