चितवन, २१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताए ।
चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिए ।
राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उनले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताए । उनले नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्छ भने।
“हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ । त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ”, प्रचण्डले भने ।
अहिलेसम्म हामीले राजा र निरंकुशलतालाई दोष दिएको भन्दै उनले अब हामीले दोष लगाउने कुनै ठाउँ नभएको बताए । उनले भने “हामी नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपार्इं हामी सबै हुने स्थिति आउँछ ।” यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताए । रासस











