दाङ, २५ कार्तिक । बामपंथी दलका नेताहरुले बामपंथी सरकार बनेमा एक दलीय र निरंकुश हुन्छ भन्ने आरोपको खण्डन गरेका छन् । २००७ सालदेखि अहिलेसम्म भएका सबै लोकतान्त्रिक आन्दोलनमा बामपंथी दलको नेतृत्वदायी भूमिका रहेकाले बामपंथी सरकार निरंकुश हुन्छ भन्ने गलत रहेको बताए । प्रमुख दुई बाम दल एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले एक्काइसौं शताब्दीको जनवादमार्फत बहुदलीय ब्यवस्था स्वीकार गरिसकेकाले बामपंथी सरकार बन्यो भने एकदलीय हुन्छ भन्ने प्रचार पनि भ्रम मात्र भएको बताए ।

23484816_1616237848439548_1023279086_o

नेपाल बुद्धिजीवी परिषद् र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङले आज शनिवार घोराहीमा गरेको अन्तक्र्रियामा उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आफूहरुको जीतको आधार पैसा र भ्रम नभइ विचार र राजनीति भएको बताउनुभयो । पैसा बाँडेर वा नभएको भ्रम बाँडेर चुनाव जित्ने बामपंथीको वर्ग चरित्र नभएकाले बामगठबन्धनको सही नीति र विचार जनताको बीचमा लैजान बुद्धिजीवीहरुलाई आग्रह गर्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले कम्युनिष्ट दस्तावेज नपढ्नेहरुले गलत प्रचार गरेको बताउँदै त्यस्तो प्रचारमा दम नभएको बताउनुभयो । ‘कांग्रेसकै उच्च नेताले बामपंथी सरकार बनेपछि रुनसमेत पाइन्न भनेछन्’– उहाँले भन्नुभयो– ‘बामपंथी दलसँग सहकार्य गरेर आफू प्रधानमन्त्री र मन्त्री बन्दा मीठा निद्रा लाग्ने तर बामपंथीहरुले सजातीय गठबन्धन गरेर सरकार बनाउन खोज्दा रुनसमेत पाइन्न भन्ने ? यो कम्युनिष्ट दस्तावेज नपढ्नेको रोदन मात्र हो, कत्ति पनि सत्यता छैन ।’

23514509_1616527541743912_472876676_o

एमाले र माओवादी केन्द्र दुबैले बहुदलीय ब्यवस्था स्वीकार गरिसकेको उल्लेख गर्दै उहाँले एक दलीय ब्यवस्था रहेको चीनमा समेत पूँजीवादी मुलुकको भन्दा कयौं गुणा बढी लोकतन्त्र भएको बताउनुभयो । उहाँले कांग्रेससँगको सहकार्यको युग सकिएको उद्घोषण गर्दै अब प्रतिष्पर्धाको युग शुरु भएको बताउनुभयो । २००७ सालदेखि संविधान निर्माणसम्म अधिकारप्राप्तिको आन्दोलन गर्नुपरेकाले सहकार्य गर्नुपरेको औल्याउँदै अब आर्थिक–सामाजिक रुपान्तरणको चरणमा कांग्रेससँग सहकार्य हुन नसक्ने बताउनुभयो । ‘कांग्रेसको गन्तव्य दलाल पूँजीवाद हो, हामी कम्युनिष्टको गन्तव्य समाजवाद हो’– उहाँले भन्नुभयो– ‘त्यसैले अब एजेण्डा नै विपरीत भएपछि कांग्रेससँग सहकार्य होइन प्रतिष्पर्धा हुन्छ ।’

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष पहलबहादुर डाँगी र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन परिषद्का सचिव कुलबीर चौधरीले गर्नुभएको थियो ।

23514529_1616640221732644_581953498_o

त्यस्तै नेताहरुले नेपालमा सबल अर्थतन्त्र विकास गर्न राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन दाङ गरेको अन्तक्र्रियामा नेताहरुले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले दाङ प्रादेशिक राजधानी र पश्चिम नेपालको विकास हव बनाउने दुई वटा चाहना रहेको उल्लेख गर्दै उहाँले चुनावपछि बन्ने बन्ने नयाँ सरकारले प्रदेश राजधानी घोषणा गर्ने र यो प्रदेशको राजधानी दाङ नै हुने बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले अर्थतन्त्र सुधारका लागि राजनीतिक स्थायित्व हुनुपर्छ भन्ने निजी क्षेत्रको मुख्य चासो सम्वोधन हुने क्रममा रहेको बताउनुभयो । ‘हामीले राजनीतिक स्थायित्वका लागि दुई वटा विधि अपनाएका छौं’– उहाँले भन्नुभयो– ‘एकातिर कानूनमै थ्रेसहोल्डको ब्यवस्था गरेर कम दल हुने ब्यवस्था गरेका छौं भने अर्कोतिर पार्टी एकता र ध्रुवीकरणमार्फत यो प्रक्रिया अघि बढाएका छौं ।’ अब बन्ने सरकार पाँच बर्ष टिक्ने र त्यसले दिगो आर्थिक आधार तयार पार्ने पनि उहाँले बताउनुभयो । नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष जीतबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन दाङका अध्यक्ष नरबहादुर अधिकारीले गर्नुभएको थियो ।