काठमाडौं, २४ असोज । सरकारले आगामी मङ्सिर १० र २१ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ । निर्वाचन सुरक्षाका लागि खटाउने गरी प्रहरी प्रधान कार्यालयले आज असोज २४ गते मङ्गलवारदेखि ३० गते सोमवारसम्म म्यादी प्रहरी भर्ना गर्न शुरु फारम खोलेको छ ।
म्यादी प्रहरीमा भर्ना हुन चाहनेले सबै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फारम भरी बुझाउनु पर्नेछ । भर्ना प्रक्रियामा पूर्व सुरक्षाकर्मी र संविधानसभा तथा स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी भई काम गरेकाहरुका लागि प्राथमिकता दिइने सूचनामा बताइएको छ ।
म्यादी प्रहरीका लागि फारम भरेकाहरुको कात्तिक ५ गतेदेखि ८ गतेसम्म छनौट प्रक्रिया शुरु हुने बताइएको छ । छनौट भएकाहरुको कात्तिक १२ देखि २४ गतेसम्म प्रशिक्षण दिएर चुनावी सुरक्षामा खटाइने छ ।
५५ दिनका लागि भर्ना गर्न लागिएका म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको आधारभूत तलव, चुनावका समयमा ७ दिनको लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले बिशेष भत्ता र ७ दिनकै लागि २ सय ५० रुपैयाँ खाजा खाना खर्च उपलब्ध हुने बताइएको छ । पोशाकका लागि सरकारले प्रति म्यादी प्रहरी ४ हजार रुपैयाँ दिने छ ।
