काठमाडौं, २४ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे आन्दोलनको घोषणा गर्ने चेतावनी निर्माण व्यवसायीले गरेका छन् ।
आज आयोजित साक्षात्कार कार्यक्रममा महासचिव रामशरण देउजाले बुधबार साँझसम्म सरकारले आफ्ना माग पूरा नगरेको अवस्थामा महासंघले देशभर आन्दोलन गर्ने र विकास निर्माणलगायत काम ठप्प पार्ने बताए ।
अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नंबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन आइरहेको बताउँदै उहाँले महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित गौचनको हत्यामा संलग्नलाई तत्काल कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरे । अध्यक्ष गौचनको सोमवार दिउसो नयाँ वानेश्वर नजिकै शान्तिनगर मार्गमा गोली हानि हत्या गरिएको थियो ।
यसैबीच नेपाल निर्माण व्यवसायी महासङ्घका गौचनको हत्यारालाई तत्काल कारबाही गर्न उक्त महासङ्घले सरकारसँग माग गरेको छ । महासङ्घका पदाधिकारीले मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका हुन् ।
अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै सुरक्षा प्रबन्ध मिलाउन महासङ्घले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेको महासङ्घका महासचिव रामशरण देउजाले बताए ।
भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन व्यवसायीलाई आग्रह गरेको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दे महासचिवले देउजाले जानकारी दिए । ‘प्रधानमन्त्री ज्यूले व्यवसायीको सुरक्षाका लागि सुरक्षा प्रमुखसँग कुरा गरेको छु भनेका छन् ।,– उनले भने ।
यस्तै महासङ्घले अध्यक्ष गौचनको निधनमा तीन दिन निर्माणका सबै काम बन्द गर्ने निर्णय गरेको छ । सोमवार महासङ्घको कार्यालयमा बसेको आकस्मिक बैठकले अनिश्चितकालका लागि बोलपत्रमा सहभागी नहुने निर्णय समेत गरेको छ ।