काठमाडौं, २४ असोज । वाम गठबन्धनले सिट भागबन्डा आज बेलुकीसम्म टुङ्ग्याइने तयारी गरेका छन् । एमाले र माओवादी नेताहरूले निर्वाचन क्षेत्र र सिट संख्याको भागबन्डा मिलाउने छलफल जारी राखेका हुन् ।
दुई दलले जित्ने निश्चित मानेका क्षेत्रहरूको प्रारम्भिक सूची आदानप्रदान गरेका छन् । माओवादी केन्द्रले आइतबार आन्तरिक गृहकार्य नटुंग्याएपछि क्षेत्र र सिट बाँडफाँड लम्बिएको नेताहरूले बताएका छन् । उसले जित्ने निश्चित भनेका क्षेत्रहरूमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षको प्राप्त मत परिणामसहितको तथ्यांक प्रस्तुत गरिसकेको छैन ।
यसैबीच एमालेले शनिबारको छलफलमा स्थानीय तह २०७४ मा वडाध्यक्षले प्राप्त गरेको मत परिणामका आधारमा ८५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रभन्दा पहिलो रहेको तथ्यांक प्रस्तुत गरेको छ । त्यस्तै, प्रदेश सभातर्फ १७० वटा क्षेत्रमा वडाध्यक्षको मत परिणाममा दुवै दलभन्दा पहिलो रहेको देखाएको छ ।
त्यस्तै माओवादी केन्द्रका तर्फबाट महासचिव रामबहादुर थापा बादल र नेता वर्षमान पुन अनन्तले पार्टीका तर्फबाट केन्द्रमा ७० र प्रदेशमा १४४ सिट जित्न सकिने दाबीसहितको सूची प्रस्तुत गरेका छन् । माओवादीले भने वडाध्यक्षको मतका आधारमा एमाले र कांग्रेसभन्दा पहिलो रहेको क्षेत्रका रूपमा परिणामसहितको तथ्यांक प्रस्तुत गरेको छैन । माओवादीले प्रस्तुत गरेको यो सूची नयाँ शक्ति पार्टी नेपालसहित तीन दलबीच ६०/ ४० को अनुपातमा सिट बाँडफाँड गर्ने सहमतिभन्दा केही प्रतिशत माथि छ । माओवादीले ४० प्रतिशत सिट पाउने सहमति लागू हुँदा केन्द्रमा ६६ र प्रदेशमा १३२ सिट प्राप्त गर्नेछ ।