रुकुम, २९ असार । रुकुम जिल्लाको भूमे गाउँपालिकाका निर्वाचित अध्यक्ष रामसुर बुढा मगर र उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) ले पदभार ग्रहण गरेका छन् । स्थानीय तहको दोस्रो चरणमा निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पद तथा गोपिनियताको शपथ ग्रहण पश्चात गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रसिंह श्रेष्ठले एक कार्यक्रम आयोजना गरी अध्यक्ष र उपाध्यक्षको पदभार गराएका हुन् ।

chairपदभार ग्रहणकै अवसरमा गाउँपालिका अध्यक्ष रामसुर बुढाले भूमे गाउँपालिकामा मानवीय पूँजी निर्माणका लागि शिक्षा क्षेत्र सुधार गरी शैक्षिक गुणस्तर कायम गर्नु अपरिहार्य भएकाले विद्यार्थीको सिकाई उपलब्धी प्रभावकारी बनाउन शिक्षा क्षेत्र सुधार योजना र शिक्षा सम्बन्धी नीति नियमको प्रभावकारी कार्यन्वयन आवश्यक भएकाले शैक्षिक क्षेत्र तत्काल सुधार कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रस्तावको फाइल सदर गरेका थिए ।

भूमे गाउँपालिकाको पहिलो निर्णय
१ सार्वजनिक सेवालाई जनताको अधिकारको रुपमा स्थापित गरी सुशासन कायम गर्न ९ वटै वडामा श्रावणको पहिलो साताभित्रै वडा कार्यालय स्थापना गरी सेवा प्रवाहलाई सरल, चुस्त, दुरुस्त, सेवामुखी र जवाफदेही बनाउने। नयाँ वडा कार्यालय स्थापना तथा तत्काल कर्मचारी व्यवस्थापन गर्न ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी उपाध्यक्षको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने ।
साथै, शहिद परिवार, घाइते, अतिविपन्न, एकल महिला, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई प्रमाणपत्रका आधारमा गाउँपालिकाबाट दिइने सबै सेवा निःशुल्क गर्ने ।

२  मौसमी प्रतिकूलतालाई मध्यनजर गर्दै तत्काल विपद् प्रतिकार्यका लागि राहत कोष खडा गरी गाउँपालिका अन्तर्गतका सबै जनप्रतिनिधि तथा कर्मचारीहरुले कम्तीमा २ दुई दिनको पारिश्रमिक कट्टी गरी कोषमा जम्मा गर्ने । राहत वितरण मापदण्ड तर्जुमा गर्न कार्यदल गठन गर्ने र सोही मापदण्ड बमोजिम राहत वितरण गर्ने ।
साथै, उक्त राहत कोष तथा विपद् व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय समुदाय, संघसंस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्यका लागि अनुरोध गर्ने ।

३ गाउँपालिका क्षेत्रभित्र सबैका लागि सञ्चारमा सहज पहुँच कार्यम गर्न संचार टावर तथा इन्टरनेट सेवा यथाशीघ्र विस्तार गर्न सम्बन्धित पक्षहरुसँग पहल गर्ने । सबै वडामा संचार र इन्टरनेट विस्तार गर्न महतको ठामै र काँक्रीको दबाङमा टेलिफोन टावर स्थापनार्थ सर्भे गर्न र सर्भे भैसकेको क्याङ्सीको राम्ली र चुनबाङको खालमा नेपाल टेलिकमको टावर निर्माण कार्य यथाशीघ्र अघि बढाउन आवश्यक पहल र अनुरोध गर्ने ।

४ गाउँपालिका क्षेत्रभित्र क्रियाशील विभिन्न गैरसरकारी संघरसंस्था तथा विषयगत कार्यालयहरुको कुन कार्यक्रम, कुन प्रकारको कहिले सम्म हो रु उक्त कार्यक्रम गाउँपालिकामा पेश गर्न अनुरोध गर्ने । गैरसरकारी संस्थाहरुलाई स्थानीय तह सरकारको कानून बमोजिम गाउँपालिकामा दर्ता गरी एकद्वार प्रणाली अनुरूप कार्य संचालनमा ल्याउने ।

५ भूमे गाउँपालिकालाई स्वच्छ, सफा र हरियालीयुक्त बनाउन एक वर्षे सरसफाई कार्ययोजना बनाई कडाइका साथ लागू गर्ने । जसअन्तर्गत पहिलो १०० दिनभित्रः
– प्रत्येक घरको बाहिरी र भित्री भित्ता लिपपोत गरी बाहिरी भित्ताको रङ गाउँटोलमा उपलब्ध हुने माटोको रङका आधारमा एकरुपता ल्याउने ।
– एक घर एक चर्पी निर्माण र प्रयोग अनिवार्य गर्ने
– एक घर एक विरुवा रोप्ने अभियान चलाउने र
– निश्चित टोल छनौट गरी क्mबचत ख्ष्ििबनभ निर्माणको थालनी गर्ने ।

६ गाउँपालिका स्थापना भएको अवसरमा प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थी, कृषक, फरक क्षमता भएका व्यक्तिहरुलाई प्रत्येक वडाका उत्कृष्ट एक एकजनालाई पुरस्कृत गर्ने तथा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने ।

७ योजना तथा बजेट तर्जुमाको आधारको रुपमा रहेको गाउँपालिकाको प्रोफाइललाई तुरुन्त पूर्णता दिने।

८ गाउँपालिका क्षेत्रभित्र रहेका ओइलानी जग्गा, अतिक्रमित जग्गा र सरकारी जग्गा र सम्पत्तिको खोजी, संरक्षण र व्यवस्थापन गर्ने । सरकारी जग्गा र सम्पत्तिको विवरण श्रावण मसान्तभित्रै सबै वडा कार्यालयहरुले गाउँपालिकामा पठाउने ।

९ वडा नं। ९ का वडाध्यक्ष श्री प्रवेश पुनलाई गाउँ कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी दिने ।

१० संविधान कार्यान्वयन र स्थानीय सरकारलाई मूर्तरुप दिन भएको स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण रुपमा सहभागी भएका सम्पूर्ण मतदाता, स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग तथा कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्ने ।