इन्द्रेणी संवाददाता
बाँके, २४ असार । बाँकेमा मालतोतका कर्मचारीसहित संलग्न रहेको नक्कली जग्गाधनी भएर जग्गा कारोवार गर्ने गिरोह सक्रिए रहेको पाइएको छ ।
यो गिरोहलाई बाँके प्रहरीले पक्राउ पनि गरेको छ । उनीहरुले नक्कली जग्गा धनी बनेर जग्गा ठगी गर्ने गरेको पाइएको छ ।
प्रहरीले साविकको कारकादा–२ हाल नेपालगन्ज उपमहानगरपालिका १८ का ७८ वर्षका मालती कुम्हारको १२ कट्ठा १६ धुर जग्गा किर्ते गरी बेच्ने गिरोहलाई पक्राउ गरेको हो ।
करीव १ करोड २ लाख ४० हजार रुपैयाँ मो मुल्यमा जग्गा धनीको सहीछाप किर्ते गरी संरक्षक समेत नक्कली बनाई २०७३ असार ३१ गते मालपोत कार्यालय बाँकेबाट राजीनामा पास भएको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिएका छन् ।
मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नायब सुब्बा चन्द्रबहादुर डांगी र रामबहादुर खड्का मालपोत कार्यालयमा राजीनामा पास गराउने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।
साबिक रनियापुर–१ हाल खजुरा गाउँपालिका– का मोइसहाक खाँको नाममा राजीनामा पास गरी जग्गा तत्काल अन्य व्यक्तिहरुको नाममा राजीनामा पास गरी ठगी गरेको पाइएको छ ।
