दाङ २९ बैशाख । देउखुरी क्षेत्रमा देखिएको बन विनासका सन्दर्भमा नागरिक समाज दाङको टोलीले जिल्ला बन कार्यालयको ध्यानाकर्षण गराएको छ । शुक्रवार जिल्ला वन कार्यालय प्रमुख सूर्यकान्त सिग्देललाई भेटी ध्यानाकर्षण गराइएको हो । निर्वाचनको मुखमा बन कटान अझ बढेको भन्दै नागरिक समाजले बन कार्यालयको ध्यानकर्षण गराएको थियो ।
नागरिक समाजको ध्यानाकर्षणसुन्दै जिल्ला बन अधिकृत सूर्यकान्त सिग्देलले देउखुरीका गंगा परस्पुर, गढवा, बेला, राजपुरलगायतका क्षेत्रमा बन अतिक्रमण एवं विनास बढी भएको भन्दै त्यसलाई रोक्न केही कारवाही प्रक्रिया समेत अघि बढाइएको वताउनुभयो । दाङमा भैरहेको बन अतिक्रमण एवं विनास रोक्न सके जिल्लाको विकासमा कहीँ कतैको सहयोग आवश्यक नपर्ने उहाँको भनाई थियो ।
बन अतिक्रमण एवं विनासका काम रोक्न आफूले पहल गरे पनि वदमासी गर्नेहरुले पहुँचका आधारमा दबाब दिने गरेको समेत वताउनुभयो । नागरिक समाजका सचिव चन्द्रराज पन्तको नेतृत्वमा सचिवालय सदस्य श्रीमन न्यौपाने, लक्ष्मी आचार्य, भूपेन्द्र सुवेदी जिल्ला वन कार्यालयमा पुगी सो ध्यानाकर्षण गराएको थियो ।