दिपक बोहरा

तुलसीपुर १८ दाङ । बुढापाकाहरु भन्ने गर्छन‘गर्मिमा पानी र जाडोमा बास दिने हो भने धर्म लाग्छ ।’ सल्यानकी रमिला बिष्टलाई बुढापाकाहरुले भन्ने गरेको यो भनाईले छोयो । सल्यानबाट कामको लागि तुलसीपुर झरेकी उनलाई दिउसो एक बजेको प्रचण्ड गर्मीमा सहन नसक्ने गरी पानी प्यास लाग्यो । उनलाई पानी पिउनका लागि कहाँ जाने भन्ने पिरले सताउन थाल्यो । हाटेलमा पानी खोज्दै उनी बिपी चोक पुगिन्, उनले यहाँ निःशुल्क पानी बितरण गरिन्छ भनेर लेखेको ब्यानर देखिन् । उनलाई ढुंगा खोज्दा देउता मिले झै भयो । त्यहाँ गएर चिसो पानी पिईन्, प्यास मेटाईन् । उनी पानी पिउनलाई होटेल धाउन पनि परेन् ।

phototoपानी पिई सकेपछि निःशुल्क पानी पियाउदै आएका टेक राम खड्कासंग भनिन्‘ पानी प्यास लाग्नु र पानी पिउन नपाउँदाको पीडा बल्ल थाहा भयो ।’ उनले थपिन्‘ बुढापाकाले त्यसै भनेका रहेनछन्, गर्मिमा पानी र जाडोमा बास दिने हो भने धर्म लाग्छ ।’

बजार घुम्दा घुम्दा निकै तिर्खा लागेको भन्दै उनले निःशुल्क रुपमा चिसो पानी पिउन पाउँदा निकै खुसी लागेको बताईन् । रमिला जस्तै दाङ गोल्टाकुरीबाट तुलसीपुर आएका मनिस चौधरीलाई पनि तिर्खा लाग्यो । तर उनले पनि पानी किनेर पिउन परेन्, बिपी चोकमा गएर पानी पिए र प्यास मेटाए । ६१ बर्षको उमेरमा समाज सेवामा खटिएको देख्दा आफु खुसी भएको उनले बताए । उनले भने ‘ मान्छे पैसाको लोभमा स्वार्थी भईरहेको अबस्थामा अझै पनि आफ्नौ पैशा खर्च गरेर अरुको भलाई सोँच्ने मान्छे पनि हुँदा रहेछन् ।’

रमिला र मनिसलाई मात्र नभई अहिले बाहिरी जिल्लाबाट तुलसीपुर झरेका तथा तुलसीपुर बजारबासीहरु पनि चिसो पानी पिउनको लागि एउटै गन्तब्य बनेको छ, तुलसीपुरको बिपी चोक । जहाँ टेकराम खड्काले गर्मिको समयमा बिगत ८ बर्ष देखी बटुवालाई पानी पियाउदै आएका छन् । पानी प्यास लाग्नै बितिकै जो कोही पनि पानी पिउन बिपी चोक पुग्ने गर्छन् । अझ त्यहाँको चिसो पानी र खड्काको सरल बोली बचनले झनै सबैको मन लोभ्याउने गर्छ ।

तुलसीपुर होटेल ब्यबसायी समिति समितिका अध्यक्ष समेत रहेका खड्काले गर्मि समयमा प्यास लाग्दा पानी नपाईनुको पीडा आफुले भोगेको भन्दै बटुवाको मर्म बुझेर पानी बितरण गर्दै आएको बताए । उनले भने‘ मलाई प्यास लाग्दा पानीको महत्व कति हुन्छ, त्यो बुझेर वटुवाको मर्मलाई बुझेर यस्तो सेवा शुरु गरेको हुँ । ।’ उनले थपे‘ बजारमा सार्बजनीक धारा पनि छैन, होटेलले पनि पानी माग्दा सहजै दिदैन, पानी पनि किनेर पिउनु पर्ने बाध्यता हुन्छ, बटुवाहरुको यस्तै समस्यालाई मध्यनजर गरी निःशुल्क पानी पियाउन शुरु गरे ।

उनले सेवा नै धर्म हो भन्ने ब्यानर टाँगेर बटुवालाई पानी पियाउदै आएका छन् । प्रतिट्याङ्कर ७ सय रुपैयाँमा पानी किनेर त्यसमा बरफ मिसाएर बटुवालाई पियाउदै गरेका उनको दैनिक रु दुई हजार पाँच सय देखी तीन हजार सम्म लाग्ने गरेको बताए । खड्का ट्यांकर, घैंटो, बाल्टिनभरि बरफ र पानी राखेर बिहान १० बजे देखी ५ बजे सम्म पानी पियाउनामै ब्यस्त देखिन्छन् । पानी पिउन दैनिक ५ देखी ६ हजार सम्म नागरिक आउने गरेका छन्, जसबाट दैनिक १ हजार ६ सय लिटर पानी खपत हुने गरेको उनी बताउछन् । उनले आफ्नो क्षमता र स्वास्थ्यले साथ दिदा सम्म समाज सेवामै तल्लिन हुने पनि बताए ।

उनले चिसो पानी पिउन पाउँदा नागरीकहरुमा देखिएको खुसी नै आफ्नो सन्तुष्टि भएको बताए । उनले भने‘ दिनभर पानी पियाउनमै ब्यस्त हुन्छु, बोल्ने फुर्सद पनी हुदैन, तर सेवा गर्न पाउदा निकै खुसी छु ।’ उनी एकान्त होटेलका सञ्चालक पनि हुन् । उनले यस अघि तुलसीपुरको तरकारी मण्डि, बधसाला निर्माण गर्न अह्म भुमिका निर्बाह गरेका थिए । भने तुलसीपुरको सरसफाई ब्यबस्थापनमा पनि उनको महत्वपुर्ण भुमिका रहेको छ ।