सल्यान, २६ चैत । कैदीबन्दीले जिल्ला कारागारभित्रै विभिन्न उद्यम गरी मासिक २५ हजार बढी आम्दानी गर्न थालेका छन् । कैदीबन्दीले मुढा, टोकरी आदि बाँसजन्य सामग्री उत्पादन गरिरहेका छन् ।

mudaउनीहरुले दिनभरि बाँसबाट बन्ने मुढा, टोकरी, डालो, ढाँकाको टोपीलगायत सामग्री तयार गर्ने गरेको जिल्ला कारागार सल्यानका प्रमुख विक्रम केसीले बताए । कैदीले मासिक रु २५ हजारभन्दा बढी उनीहरुले उत्पादन गरेका वस्तु बिक्री गरेर नै कमाउने गरेका छन् ।

सामग्री उत्पादन गर्नका लागि आवश्यक पर्ने बाँसलगायत कच्चा पदार्थ जिल्ला कारागार सल्यानको पहलमा ल्याउने गरिएको छ । “कारागाभित्र दिनभर यसै बस्नुभन्दा उत्पादनका काम गरे उनीहरुलाई पनि फाइदा हन्छ जेलजीवन सकिएपछि पनि व्यवसाय सञ्चालन गर्न सक्छन्”, केसीले भने।

कारागारमा धेरै कैदी रहेको र आफूले जानेको सीप नयाँ आएका कैदीलाई पनि सिकाउने गरेको २४ वर्षीय कैदी महेन्द्र थापाले भने । आफूहरुले कमाएको पैसाले आफूहरुलाई चाहिने खर्च टार्ने गरेको र कतिपयले घरमा समेत पठाउने गरेका छन् । कैदी थापाले आफूहरुलाई कसैले अझ यसबारेमा तालिम लिने हो भने धेरै कमाउन सक्ने जिकिर गरेका छन् ।

कैदीले उत्पादन गरेका वस्तुको बजारको समस्या भने नरहेको केसीले बताए। कैदीका उत्पादन खलङ्गा, श्रीनगरलगायत बजारमा जाने गरेको र कतिपयले कारागारमै पुगेर किनेर लैजाने गरेका छन् । हाल जिल्ला कारागार सल्यानमा ६५ कैदी र २२ बन्दी छन् ।