दाङ, १ चैत । राप्ती साहित्य परिषद्मा स्थापित राप्ती सिर्जना पुरस्कारका लागि पुस्तक उपलब्ध गराउन आह्वान गरिएको छ । २०७२ सालमा प्रकाशित राप्ती अञ्चलभित्रका स्रष्टाहरुका पुस्तकहरुबाट छनौट गरी दिइने उक्त पुरस्कारका लागि परिषद्ले लेखकहरुलाई पुस्तक उपलब्ध गराउन आह्वान गरेको हो ।
शुक्रबार घोराहीमा बसेको परिषद्को पुरस्कार छनौट समितिले यही चैत मसान्तसम्म परिषद्को केन्द्रीय कार्यालयमा आइपुग्ने पुस्तक उपलब्ध गराउन आग्रह गरेको परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । पुरस्कार छनौट समितिका संयोजक नारायणप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका सदस्यहरुमा उत्तमकृष्ण मज्गैंयाँ, सुशील गौतम, टीकाराम उदासी र शारदा शर्मा रहनुभएको छ ।
उक्त पुरस्कार राप्ती साहित्य परिषद्मा साहित्यकार डा. नेत्र एटम र डा. बिन्दु शर्माले स्थापना गर्नुभएको हो । पुरस्कारको राशी रु. १५ हजार रहेको छ । उक्त पुरस्कार हरेक वर्ष परिषद्को वार्षिकोत्सवका अवसरमा प्रदान गरिदै आएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।
