
मनु मगर
दाङ,१ चैत । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षामा एसएलसीमा ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् ।
विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ । दाङमा माध्यमिक शिक्षा परीक्षामा ११ हजार २ सय ९९ जना विद्यार्थी सम्मेलित हुने भएका छन् । जसमा छात्रातर्फ ६ हजार ८५ जना छन् भने छात्रतर्फ ५ हजार २ सय १४ जना रहेका छन् ।
जसमा नियमित तर्फ १० हजार ९ सय ७६ जना रहेका छन् । छात्रातर्फ ५ हजार ८ सय ७१ र छात्रतर्फ ५हजार १ सय ५ जना रहेका छन् । यसैगरी एक्जाम्टेडमा २ सय १४ छात्रा र १ सय ९ जना छात्र गरी ३ सय २३ जना रहेका छन् भने गे्रडबृद्धितर्फ २ सय जना परिक्षार्थी सहभागी हुने दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिनुभएको छ ।
दाङमा ४२ वटा परिक्षाकेन्द्र निर्धारण गरीएको छ । उहाँका अनुसार ४२ जना केन्द्राध्यक्ष, ५८ जना सहायक केन्द्राअध्यक्ष, ५ सय २ जना निरिक्षक, २ सय ६१ जना सहयोगी र आवश्यकता अनुसार सुरक्षाकर्मि खटाइने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । चैत ३ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात एसएलसी चैत १४ गतेसम्म चल्नेछ ।।
