nityanand

तुलसीपुर २८ मंसिर ।  साहित्यकार नित्यानन्द शर्माको स्मृतिमा ५०÷५० हजार राशीका दुइवटा पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको छ । १३ औं दिनको पुण्यतिथिको अवसर पारेर शर्माको परिवारले राप्ती साहित्य परिषद् र लेखक संघको स्वामित्वमा रहने गरी दुइवटा पुरस्कार अक्षयकोष स्थापना गरेका हुन् ।

राप्ती साहित्य परिषद्मा ५० हजार रुपैयाँको नित्यानन्द प्रज्ञा पुरस्कारको अक्षयकोष स्थापना गरिएको हो भने लेखक संघ दाङमा ५० हजार रुपैयाँ राशीकै नित्यानन्द साहित्य प्रतिभा पुरस्कारको स्थापना गरिएको हो । शर्माकै घर अम्बापुरमा आज (सोमबार) परिवारजनले सो अक्षयकोषको रकम सम्बन्धित संस्थाहरुलाई हस्तान्तरण गरेका हुन् ।

उक्त पुरस्कार अक्षयकोषबाट आउने व्याजबाट हरेक वर्ष दुबै संस्थाको स्थापना दिवसको अवसरमा एक जना साहित्यकारलाई पुरस्कृत गर्ने शर्माका निकट मित्र साहित्यकार उत्तमकृष्ण मजगैंयाँले जानकारी दिए । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता, पूर्व जिल्ला न्यायाधिश नारायणप्रसाद धितालको प्रमुख आतिथ्य एवम् लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार नित्यानन्द शर्माकी श्रीमती कालिकादेवी खनालले सो पुरस्कारको अक्षयकोषको रकम हस्तान्तरण गरेकी हुन ।

पुरस्कार अक्षयकोष हस्तान्तरण कार्यक्रमको सञ्चालन साहित्यकार उत्तमकृष्ण मजगैंयाले गरेकाथिए भने सहभागीहरुलाई शर्माका छोरा श्रवण खनालले धन्यवाद ज्ञापन गरेका थिए । राप्ती साहित्य परिषद्का संस्थापक सदस्य तथा आजीवन सदस्य शर्माका बाँच्ने रहर कथा संग्रह, जूनमामा बालगीत संग्रह, बिम्ब–प्रतिबिम्ब कविता संग्रह र मानिस गीत गीतसंग्रह प्रकाशित छन् । साहित्यकार नित्यान्नद शर्माको गत मंसिर १५ गते निधन भएको थियो ।