काठमाडौं, २८ मंसिर । नेपालको आर्थिक विकासको एउटा मुख्य समस्याको रुपमा रहेको लोडसेडिङलाई अन्त्य गर्न सरकारले थप ५ अर्ब ३७ करोड दिने भएको छ । सरकारले ऊर्जा मन्त्रालयलाई सो थप रकम दिने भएको हो ।
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराका अनुसार विद्युत्पोल, ट्रान्सफर्मर, नयाँ मिटर, तार÷केबल खरिद गर्नका लागि थप रकम निकासा दिने सरकारले निर्णय गरेको हो ।
यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् चुहावट नियन्त्रण गरी २६ बाट १५ प्रतिशतमा झार्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका थिए ।
त्यसक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले रकम अभाव देखाएपछि प्रधानमन्त्रीकै निर्देशनमा अर्थमन्त्रीले सो रकम निकासा दिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीसँगको छलफलमा ऊर्जामन्त्री शर्माले भ्रष्टाचार र कालोबजारी लोडसेडिङको प्रमुख कारण भएको बताए ।
