तुलसीपुर २८ मंसिर । तुलसीपुर ६ मा सञ्चालन भएको गुडिया निमार्ण तालिमको समापन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो । वडा महिला सञ्जालको आयोजनामा सञ्चालन भएको तालिम समापन कार्यक्रममा बक्ताहरुले महिलाहरुलाई आय आर्जनमा सहभागी बनाउन तालिम महत्वपूर्ण भुमिका रहने बताएका थिए । उनीहरुले कम लगानी तथा औजार उपकरण विना पनि घरमै बसेर गुडिया निमार्ण गर्न सकिने भएकाले महिलाहरुले सहजै आम्दानी गर्न सक्ने बताएका थिए ।
वडा नागरिक मञ्चका संयोजक हरिकला वली मियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोप बहादुर डाँगीले भौतिक बिकास सँगसँगै नगरपालिकाले मानवीय विकासलाई पनि ध्यान दिएको बताए । महिला सञ्जालका संयोजक मेनका शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा एलजीसीडिपी कार्यक्रम संयोजक हेमन्त योगी, नेकपा माओवादी केन्द्रका गुरु प्रसाद लम्साल, पत्रकार नारायण भण्डारी, सामाजिक परिचालक श्रदा गौतम, प्रशिक्षक गौरी खड्का र सिन्धु गुरुङ्, दलित सञ्जालका यमुना परियार, सहभागी समिता चौधरी र लिला गिरी लगायतले तालिममा सिकेको ज्ञान ब्यवहारमा उतारनुपर्नेमा जोड दिएका थिए ।
नगरपालिकाको लक्षित बर्ग कार्यक्रम अन्र्तगतको एक लाख ६६ हजार लागतबाट सञ्चालन भएको तालिममा वडा नम्वर ६ का विभिन्न टोलका ३० जना महिलाहरुको सहभागीता रहेको थियो । दोश्रो चरणमा पनि ३० जना महिलाहरुलाई यस्तै तालिम प्रदान गरिने वडा सचिव कमल प्रसाद शर्माले जानकारी दिए । एक हप्ता सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा गौरी खड्का र सिन्धु गुरुङ् रहेका थिए ।।
