बाँके, २७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनता अल्मल्याउने र भ्रममा पारेर राष्ट्रिय एकता कमजोर पार्ने षडयन्त्र भइरहेको बताएका छन् ।
आज प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर कार्यान्वयनमा जान र निर्वाचनमा लाग्न आग्रह गरेका छन् । उनले सरकारले अनुचित, जनचाहना विपरित र राष्ट्रहीत विपरितको संशोधन फिर्ता नहुँदासम्म संसद चल्न नसक्ने बताए ।
जातीय र साम्प्रदायिक भावना भड्काएर द्वन्द्व उद्योग खोल्न खोजिएको आरोप लगाउँदै उनले जायज कुरा गर्दा नश्लवादी भनिएको टिप्पणी गरेका थिए । वर्गीय समस्या, थिचोमिचो र विभेदलाई जातीय भनेर माओवादीले वर्ग छाडेर जातको राजनीति गरेकाले समस्या बल्झिएको ओलीले आरोप लगाए ।
