काठमाडौं, २२ कार्तिक । स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन पठाउन दिएको निर्देशन सकिनै लाग्दा अहिले सम्म ३० जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् । आयोगले बाँकी जिल्लालाई छिटो पठाउन समेत निर्देशन दिएको छ । योगले प्रतिवेदन पठाउन दिएको म्याद शनिबार सकिएपनि आजसम्म म्याद दिएको छ ।
आयोगका अनुसार इलाम, खोटाङ, अछाम, रसुवा, जुम्ला, बझाङ, बाँके, प्युठान, सुनसरी, धनकुटा, सिन्धुपाल्चोक, दोलखा, चितवन, कास्की, ताप्लेजुङ, सुर्खेत, दार्चुला, म्याग्दी, डोटी, दैलेख, कञ्चनपुर, रामेछाप, बाजुरा, तनहुँ, पाल्पा, उदयपुर, डडेलधुरा, भक्तपुर, ओखलढुंगा र पाँचथरले प्रतिवेदन बुझाएका छन् ।
बाँकी जिल्लाले केही दिनभित्र नपठाए पुरानै प्रतिवेदनलाई मान्यता दिने आयोगले तयारी गरेको छ ।
आयोगले कार्तिक पहिलो हप्ता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार ३० जिल्लाको पुनर्संरचना प्रतिवेदन प्राप्त भएको र बाँकी जिल्लाको आउने क्रम जारी रहेको आयोगले जनाएको छ ।
