पार्टी एकताका लागि साझा सहमतिका बुँदाहरु तयार । हेर्नुहोस बुँदागत रुपमा :-
१) साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग नै रहेको वर्तमान विश्वमा क्रान्ति र प्रतिक्रान्तिका भीषण वर्ग संघर्षका बीचमा यतिबेला विश्वस्तरमा प्रतिक्रान्ति हावी रहेको छ र कम्युनिष्ट क्रान्तिकारीहरुका अगाडि इतिहासका अनुभवहरुको गम्भीर समिक्षा सहित मा.ले.मा.को रक्षा, प्रयोग र विकास गर्ने तथा क्रान्तिकारीको नयाँ आक्रामक लहरका निमित्त नयाँ कार्यदिशा, रणनीति र कार्यनीतिको विकास गर्ने ऐतिहासिक रुपले चुनौतिपूर्ण दायित्व रहेको छ ।
२) उपरोक्त अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव सहित नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद र अवसरवाद हावी हुँदै गएको छ । माओवादी नेतृत्वको १० वर्षे महान् जनयुद्ध र त्यसका बलमा सिर्जित क्रान्तिकारी परिस्थिति र उपलब्धीहरु खतरामा छन् । यस सन्दर्भमा वैचारिक अन्योल, अन्तरविरोध र विचलनको वस्तुवादी र तर्क संगत संश्लेषण हुन नसक्दा माओवादी पार्टी र आन्दोलनमा विभाजनका श्रृंखलाहरु देखापरे जसको परिणाम क्रान्तिकारीहरुमा निराशा, विघटन र पलायनका प्रवृति हावी हुन थालेका छन् भने यसबाट प्रतिक्रियावादी र अवसरवादीहरु भने हौसिंदै क्रान्तिका उपलब्धीहरु माथि आक्रमण बढाउँदै लगेका छन् । परिस्थितिको यो संवेदनशीलताका बीचमा आज सम्पूर्ण माओवादी र सच्चा कम्युनिष्टहरुका बीचमा पार्टी एकता हुनुपर्ने आवाज चारैतिरबाट उठिरहेको छ । वस्तुतः सम्पूर्ण माओवादी सहित सच्चा कम्युनिष्टहरुको बीचको एकता आज एक अपरिहार्य, वस्तुगत र ऐतिहासिक आवश्यकता बनेर आएको छ ।
३) पार्टी एकतालाई दिगो र दह्रो बनाउन सच्चा कम्युनिष्टहरुले हमेशा विचारधारात्मक र राजनैतिक कार्यदिशालाई आधार बनाउने गर्दछन् र त्यसै गर्नु पनि पर्दछ । त्यस अनुसार आजको ठोस सन्दर्भमा मा.ले.मा.लाई पथप्रदर्शक सिद्धान्त मान्ने तथा यसको रक्षा, प्रयोग र विकास गर्ने कुरामा समान समझदारी हुुनु पार्टी एकताका लागि पहिलो आधारभूत सर्त हो ।
४) वित्तिय पूँजीको तीब्र भू–मण्डलीकरण, विज्ञान प्रविधि मुख्यतः सूचना प्रविधिमा भएका अभूतपूर्वक क्रान्ति तथा मौसम परिवर्तनको परिघटना लगायतका सन्दर्भमा विश्व साम्राज्यवादले नवउपनिवेशवादको नयाँ रणनीतिद्वारा आफ्नो एकाधिकारवादलाई बचाई राख्ने जमर्को गरिरहेका छ भने सर्वहारा वर्ग र उत्पीडित राष्ट्र एवम् जनताका अगाडि उसका विरुद्ध विचार र रणनीतिको नयाँ विकास गर्दै संघर्ष बढाउनु पर्ने कुरामा समान समझदारी हुनु पर्दछ ।
५) महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनहरुका बलमा सामन्तवाद माथि राजनैतिक रुपमा जनताले विजय हासिल गरेका छन् । तर साम्राज्यवाद विरुद्धको संघर्ष र राष्ट्रिय स्वाधिनताका प्रश्न आज झन् गम्भीर र सर्वाधिक महत्वपूर्ण बनिरहेको छ । यो स्थितिमा राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरण एवम् सामन्तवादका अवशेषका विरुद्ध संघर्षलाई निरन्तर अगाडि बढाउन आवश्यक छ । सामन्ती अवशेष सहित दलाल र नोकरशाही पूँजीपति वर्ग हावी रहेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध संघर्ष गर्दै र राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्या समाधान गरी सामन्तवाद र साम्राज्यवाद विरोधी पूँजीवादी जनवादी क्रान्ति,, जुन नयाँ जनवादी क्रान्तिकै मुख्य सारतत्व हो, लाई पूर्णता दिई समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने आधारभूत राजनीतिक कार्यदिशामा समान समझदारी पनि एकताका लागि आवश्यक छ । यो अन्तरिम कार्यदिशाका आधारमा अगाडि बढेर अध्ययन, अनुसन्धान र छलफलको प्रक्रियाद्वारा एकता महाधिवेशनबाट कार्यदिशाको परिमार्जन, संमृद्धिकरण र संश्लेषण गरिनेछ ।
६) सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिकालाई वर्गाीय समाजको सार्वभौम सिद्धान्तका रुपमा स्वीकार गर्ने कुरामा समान बुझाई आवश्यक छ । आजको ठोस परिस्थितिमा त्यसको स्वरुप निर्धारण गर्नु पर्दछ ।
७) जनवादी केन्द्रीयतालाई आधारभूत संगठनात्मक सिद्धान्तका रुपमा स्वीकार र अभ्यास गर्ने तथा तत्काल संगठनात्मक संरचना नेतृत्व निर्माणदेखि अन्तरसंघर्ष र एकीकरणको सर्वसम्मत नीति, विधि र प्रक्रिया निर्धारण गर्नु पर्दछ ।
८) नेपालको नयाँ संविधानले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनैतिक मुद्धाहरुलाई संस्थागत गरेको छ । यद्यपी पनि यो पुर्ण छैन । यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिइएको छ । राज्यसत्तामा दलाल, नोकरशाही पूँजीपति र ह्रासोन्मुख सामन्ती वर्गकै हित सुरक्षित गरेको छ । संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवम् समानुपातिक समावेशी प्रतिनिधित्व एवम् जनताका मौलिक अधिकारसँग सम्वन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोग गर्दै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनु पर्दछ ।
९) तात्कालिक कार्यनैतिक दृष्टिले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाका समस्याहरुलाई लिई सबै मोर्चाबाट चौतर्फि पहल र हस्तक्षेप गर्दै क्रान्तिको सम्पूर्ण तयारीमा जोड दिनु पर्दछ । यस सन्दर्भमा सडक, सदन र सरकारका सबै मोर्चाहरुलाई उपयोग गर्दै क्रान्तिको समग्र तयारीको विशिष्ट योजना र कार्यक्रम बनाईनु पर्दछ । क्रान्तिका लागि सडकबाट लिईने पहलकदमीको मुख्य र सदन र सरकारबाट लिईने पहलको सहायक र विशिष्ट भूमिका रहने कुरामा समान समझदारी रहनु पर्दछ ।
१०) तराई–मधेस, उत्पीडित क्षेत्र, थारु लगायत आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम लगायतका समस्याहरुको संबोधन गर्न पहिचान, राष्ट्रिय आत्मनिर्णयको अधिकार, स्वायत्तता र पूर्ण समानुपातिक प्रतिनिधित्व सहित विशेषाधिकारको व्यवस्था गर्न पर्दछ । यसरी मात्र आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेर देशको समग्र राष्ट्रिय स्वाधिनता सुदृढ गर्न सकिन्छ ।
११) साम्राज्यवादी र विस्तारवादी शक्तिहरुद्वारा विगतमा नेपालमाथि थोपरिएका सन् १९५० लगायतका असमान सन्धी सम्झौताको खारेजीको लागि संघर्ष गर्ने ।
१२) पार्टी र आन्दोलनका विगतका गल्ति कमि–कमजोरीहरुको समिक्षा गर्ने ।
१३) उपरोक्त साझा सहमतिका आधारमा सबै पक्ष सम्मिलित संयोजन समितिले पार्टीको नाम लगायत एकताको विधि, प्रक्रिया, संरचना, नेतृत्व, मिति निर्धारण गर्नेछ ।