उदय जीएम

काठमाडौं । लामो समयको पर्खाइपछि दाङ तथा राष्ट्रियस्तरका कलाकारहरुको अभिनय रहेको “उहिले बाजेको पालामा” आमदर्शकले हेर्न पाउने भएका छन् । “ओल्ड इज गोल्ड” भन्ने मूल नारा राखिएको यो चलचित्र यही बैशाख २४ गतेदेखि राजधानीका हलहरुमा र जेठ ७ गतेदेखि मोफसलका हलहरुमा प्रदर्शन हुँदैछ ।

Uhile-Bajeko-palama

नेपाली कला, सँस्कृति र मौलिकता बोकेको चलचित्र “उहिले बाजेको पालामा”को निर्देशन उदीयमान निर्देशक बसन्त घर्तीमगरले गरेका छन् । यो चलचित्रमा दिलीप रायमाझी, कमल गाउँले, गणेश बेलवासे, खुश्बु खड्का लगायतका कालाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा कार्यकारी निर्माताको रुपमा सुनिल मानन्धर छन् भने निर्मातामा चेतन कोइराला र यादव सैघाली रहेका छन् ।

“पछिल्लो समयमा नेपाली चलचित्रमा मौलिक कथा भेटिन छोडिसकेको छ”, यसका कलाकार गणेश बेलबासेले भने, “हामीले दर्शकहरुको चाहनाअनुरुपमै उहिलेको बाजेको पालामा हुने गरेका विभिन्न प्रचलन, संस्कार, संस्कृतिलाई उठान गरेका छौं ।” यसमा उहिले पितापुर्खाको पालामा चलिआएका विभिन्न संस्कार, रीतिरिवाजहरुलाई कलात्मकरुपमा फिल्माङ्कन गरिएको निर्माता सैघालीले बताए ।

यस चलचित्रमा विपिन आचार्यको संगीत, हरिनारायण चौधरीको छायाङ्कन, भरत क्षेत्रीको द्वन्द्व रहेको छ । यो चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट समेत पाइसकेको छ । फिल्मको गीतमा कोमल वली, माण्डवी त्रिपाठी, अरुण शाह लगायतका लोकप्रिय कलाकारहरुको कर्णप्रिय स्वर रहेको छ ।