Home Blog

सल्यानमा एक शिक्षक डेरा कोठामा मृत भेटिए

सल्यान । सल्यानमा एक शिक्षक मृत फेला परेका छन् । एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बागचौर नगरपालिका–७ कोदालचौर घर भई हाल बागचौर नगरपालिका–६ ठुलाहिममा डेरा गरी बस्दै आएका ४८ वर्षीय शिक्षक हरिबहादुर वली मृत अवस्थामा फेला परेका हुन् । उनी ठुलाहिमस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हन् ।

प्रहरीका अनुसार मङ्गलबार साँझ खाना खाएर सुतेका वली बुधबार बिहान करिब ७ बजे घरबेटी कमला वलीले उठाउन खोज्दा नउठेपछि अचेत अवस्थामा रहेको भन्दै इलाका प्रहरी कार्यालय सिमखोलीमा खबर गरिएको थियो। सूचना पाएपछि प्रहरी सहायक निरीक्षक निरज खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी घटनास्थलमा पुगेर जाँच गर्दा वलीको मृत्यु भइसकेको पुष्टि भएको थियो । घटना किन र कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एकै दिन सुन तोलामा आठ हजार बढ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६५ र चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम छ ।

लुकाइछिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा साउन १६ देखि १९ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट ती बन्दुक फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बङ्गलाचुली गाउँपालिकाका विभिन्न सामुदायिक वनबाट सबैभन्दा बढी ३० नाल भरुवा बन्दुक बरामद गरेको छ । सो टोलीले वडा नं। ५, ६ र ८ का सामुदायिक वनमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको हो। अमिलियाबाट खटिएको टोलीले लमही नगरपालिका–९ स्थित बिरुवा सामुदायिक वन क्षेत्रबाट सात नाल भरुवा बन्दुक बरामद गरेको छ ।

यसैगरी प्रहरी चौकी रामपुरबाट परिचालित टोलीले बङ्गलाचुली गाउँपालिकाका वडा नं। ४ र ८ का वन क्षेत्रबाट १३ नाल तथा प्रहरी चौकी हाँसिपुरबाट खटिएको टोलीले बबई गाउँपालिकाका विभिन्न सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । बरामद गरिएका सबै भरुवा बन्दुक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए । यसरी लुकाएर राखिएका बन्दुकहरु जंगली जनावरको सिकार गर्न प्रयोग गरिएको प्रहरीको अनुमान छ ।

मौसम : लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका तराई भूभाग केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । रासस

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ः०० बजे बोलाइएको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । सांसद आङ्देम्बेले वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने मागसहितको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव मङ्गलबार पनि कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भू–भाग केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागद्वारा जारी विज्ञप्तिका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कर्णाली प्रदेशका पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा मधेश प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ । प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले विभागका पछिल्ला मौसमसम्बन्धी सूचनाबारे नियमित अद्यावधिक रहन पनि अनुरोध गरेको छ । रासस

१८ महिनापछि ओली-प्रचण्ड सहकार्य नजिक

काठमाडौं । १८ महिनासम्म संघीय सरकारमा सहकार्य गरेर छुटिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल फेरि सहकार्यमा जुटेका छन् । नकपा एमाले र रास्वपाको समर्थनमा प्रचण्ड १८ महिनासम्म संघ सरकारको नेतृत्व गरेका थिए ।

सत्ता सञ्चालनका क्रममा खटपट परेपछि २०८१ असारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकारको नेतृत्वबाट ओरालिएका थिए । त्यसपछि एमालेले असार १७ गते काग्रेससँगको सहकार्यमा पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा पुगेका थिए । यसरी सत्ताको खेलमा मन नमिल्दा ओली र प्रचण्ड एक अर्काको चर्काे विरोध गर्दै आएका थिए । अझ भन्दा करिव करिव बोलचालनै बन्दको अवस्थामा पुगेका थिए ।

गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलपछि सत्ताचुत्त भएका ओली र बिलाएका प्रचण्ड त्यसपछि भएको संसदको चुनावबाट नराम्ररी पछारिए । करिव करिव सकिएकै अवस्थामा पुगेपछि उनीहरु फेरि अहिले सहकार्यको हात अघि बढाएका छन् । फेरि उनीहरुले औपचारिक भेटघाट सुरु गरेका छन् ।

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाछ । साथै बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

एक वर्षसम्म नयाँ सरकारी कर्मचारी भर्ना नलिने

काठमाडौं । सरकारले यस वर्ष निजामती सेवामा नयाँ भर्ना नलिने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार भएको सचिव बैठकले चालु आर्थिक वर्षमा कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने, नगराउने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारी सेवा प्रवेशका लागि तयारी गरिरहेका लाखौं युवाहरू प्रभावित हुने भएका छन् ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्तिका लागि लोक सेवालाई माग नगर्ने निर्णय गरेको छ । नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणले विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले हाललाई लोकसेवा आयोगमा माग नगर्ने निर्णय भएको हो ।

लोकसेवा आयोगले निजामतीतर्फ विभिन्न तह र पदका वार्षिक रुपमा ३ देखि ४ हजार पदको विज्ञापन निकाल्दै आएको थियो । तर सरकारको यो निर्णय गरेपछि यस वर्ष लोकसेवा आयोगले विज्ञापनमार्फत पद पूर्ति गर्न पाउने छैन ।

दाङमा ८५ प्रतिशत धान रोपाइँ सकियो

दाङ । साउनको पहिलो साता लाग्दै गर्दा दाङमा करिब ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार अहिलेसम्म जिल्लामा २८ हजार ३८५ हेक्टर क्षेत्रफल धान रोपाइँ सकिएको छ ।

केन्द्रका प्रमुख नवराज भण्डारीलेका अनुसार देउखुरी क्षेत्रका अधिकांश स्थानमा धान रोपाइँ सकिएको छ। तर दाङ उपत्यका तथा वर्षाको भरमा खेती हुने केही क्षेत्रमा अझै रोपाइँ जारी छ।

घोराहीको नारायणपुर, तुलसीपुर उपमहानगरपालिकाको दक्षिणी क्षेत्र, दंगीशरण, शान्तिनगर, बबई र बंगलाचुली गाउँपालिकाका वर्षामा निर्भर किसानले अझै रोपाइँ गरिरहेको उनले बताए । अझै १५ प्रतिशतमा भने रोपाइँ बाँकी छ ।
यस वर्ष दाङमा ३४ हजार ४२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।