राजन रावत
हुम्ला । पाँच वर्षअघि माथिबाट आएको पहिरोले पावर हाउस भत्काएपछि अदानचुली गाउँपालिका–२ र ३ मा रहेको मछ्याईनी लघुजलविद्युत् योजनाको मर्मत हुन नसक्दा दुई गाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित हुँदै आएका छन्।
अदानचुली गाउँपालिका–२ र ३ का थाई र मकै गाउँमा विद्युत् आपूर्ति गर्न निर्माण गरिएको उक्त योजना सञ्चालनमा आएको चार वर्षमै पहिरोले पावर हाउसमा क्षति पुर्याएको थियो। त्यसयता मर्मत हुन नसकेपछि स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित भएका हुन्।
उक्त विद्युत् योजना पहिरोले भत्काएपछि विद्युत् आपूर्ति बन्द हुँदा हुनेखाने परिवारले सोलार प्रयोग गरेर घर उज्यालो बनाउने गरेका छन् भने विपन्न परिवार सल्लाको दियालो बालेर रात कटाउन बाध्य छन्। मकै गाउँकी स्थानीय दुम्ची पलातीले सहयोगी हातहरूको सहयोगमा चार वर्षसम्म लगातार विद्युत् सेवा उपभोग गर्न पाए पनि पावर हाउसमा क्षति पुगेपछि विद्युत् सेवाबाट वञ्चित हुनुपरेको बताए।
घरमा बत्ती बालेको सम्झँदा अहिले सपना जस्तो लाग्ने गरेको बताउँदै उहाँले लघुजलविद्युत् योजना पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरे गोरखापत्रमा खबर छ । २०७७ सालमा माथिबाट आएको पहिरोले लघुजलविद्युत् योजनाको पावर हाउसमा क्षति पुर्याएपछि अवरुद्ध भएको विद्युत् सेवा मर्मत नहुँदा दुई गाउँका स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित हुनुपरेको स्थानीय हरि बुढाले बताए।
पावर हाउस भत्किएर सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको र पोल ढलेर तारहरू छरपस्ट रूपमा खसेका उनले बताए। मेशिन भने अझै राम्रो अवस्थामा रहेको भए पनि अन्य संरचनाको मर्मत हुन नसक्दा विद्युत् सेवा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ। यसबाट दुई गाउँका करिब २५० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्।











