धनुषा, ३० साउन
धनुषाको सिमराढीमा बोक्सी आरोपमा एक बृद्धालाई स्थानीयले एक वर्षदेखि शारिरीक यातना दिँदै आएको सार्वजनिक भएको छ । जिल्लाको खरीहानी गाविस–५ सिमराढी निवासी ६० वर्षीया बृद्धा जानकी देवी कापडलाई स्थानीयले वर्ष दिनदेखि लगातार यातना तथा कुटपिट गर्दै आएका हुन् । टाउको र हात–खुट्टामा चोटपटक लागेकी जानकीलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेपछि उक्त तथ्य बाहिर आएको हो । स्थानीयले बोक्सी लागेको भन्दै वर्ष दिनमा तीनपटक कुटपिट गर्ने गरेको जानकीका छोरा राम केवल कापडले जानकारी दिए ।
स्थानीयले बोक्सी आरोपमा आमालाई पटक(पटक कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खरिहानीमा उजुरी गरेपनि प्रहरी प्रशासनले कुनै चासो नदिएको उनले बताए ।
प्रहरीले दोषिलाई कारवाही गर्नुको सट्टा आमा र आफूलाई गालीगलौज गरेर धपाएको राम केवलले दुखेसो पोखे ।
उपचारका लागि अस्पताल भर्ना भएकी जानकीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान पूरा भएपछि मात्रै पिडकलाई पक्राउ गर्ने जनाएको छ ।।