२८ साउन, काठमाडौं ।
माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सार्बजनिक लेखा समितिको सभापति पदबाट राजीनामा दिनुभएको छ । आज बसेको लेखा समितिको बैठकमा प्रभाकरले राजीनामाको प्रस्ताव पेश गर्नुभएको थियो । समितिको बैठकले उहाँको राजीनामा प्रस्ताव पारित गरेको हो ।
व्यवस्थापिका संसद अन्तर्गतको लेखा समिति सभापति प्रमुख प्रतिपक्ष दलले लिने प्रचलन छ । हाल एमाले प्रतिपक्षमा छ । तर, यसअघिको एमाले–माओवादी गठबन्धन सरकारमा माओवादी नेता प्रभाकरले लेखा समितिको सभापति पद छाड्नुभएको थिएन । अहिले प्रभाकर मन्त्री बन्ने चर्चा छ भने यही बीचमा उहाँले राजीनामा दिनुभएको हो ।
संसदका १५ वटा विषयगत समितिमध्ये तेस्रो दल माओवादी केन्द्रले दुई समितिको सभापति पाएको थियो । दलहरुको भागबन्डाको आधारमा समिति बाँडफाट गरिने भएकाले लेखा समिति एमालेले पाए पनि माओवादीले अर्को समितिमा दाबी गर्ने पक्का छ । तर, माओवादीले लेखा समिति नछाड्ने र प्रभाकरको सट्टा अर्को सांसदलाई पठाउन पनि सक्नेछ ।।
