साउन २६ रोल्पा
सभामुख ओनसरी घर्तीले शिक्षा क्षेत्रमा लगानी कम हुँदा युवाहरु विदेशिन बाध्य भएको बताउनुभएको छ । रोल्पाको सदरमुकाम लिबाङमा आज आफूले अध्ययन गरेको बालकल्याण उच्च माविको भवन शिलान्यास गर्दै सभामुख घर्तीले यस्तो बताउनुभएको हो ।onsari-gharti

दश वर्षे सशस्त्र युद्धको समयमा समग्र शिक्षा क्षेत्रनै प्रभावित भएकोले अब देशमा शैक्षिक जागरण ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । अब शिक्षामा डिजिटल माध्यम र इन्टरनेटको प्रविधिलाई प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सभामुख घर्तीले युद्धको समयमा रोल्पाका युवा पढाइमा भन्दा पनि राजनीतिक परिवर्तनमा होमिनु परेको भन्दै अहिले शैक्षिक जागरण ल्याउनुपर्ने बताउनुभयो ।

यसअघि रोल्पा जिल्लाले अर्थमन्त्री पाउँदा धेरै बजेट आएको भएता पनि सबै खर्च हुन नसकेको भन्दै अहिले दोस्रो पटक फेरि अर्थमन्त्री पाएकोले रोल्पाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

यो विद्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री वर्षमान पुन, नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लव लगायतका राष्ट्रिय स्तरमा पुगेका नेताले अध्ययन गरेका थिए ।।