nbsकाठमाडौँ, २६ साउन ।  नेपाल विद्यार्थी सङ्घको राजधानीमा जारी महाधिवेसनमा ‘बन्द सत्र’ सञ्चालन हुन नसक्दा प्रतिनिधिहरू अन्योलमा परेका छन् ।

 मङ्गलबार दुई बजे सुरु गर्ने भनिएको बन्द सत्र बुधबार बिहान आठ बजेसम्मका लागि स्थगित गरिएपछि प्रतिनिधिहरू अन्योलमा परेका हुन् ।

 आइतबार शान्त वातावरणमा भव्य र सभ्य रूपमा उद्घाटन सम्पन्न भएको महाधिवेसनको बन्द सत्र लगातार दुई दिनसम्म सञ्चालन हुन नसकेपछि महाधिवेशन हुने र नहुने विषयमा शङ्का उपशङ्का उठ्न थालेका छन् ।

सोमबार दुई बजे सुरु हुने भनिएको बन्द सत्र सूचना टाँस गरी मङ्गलबार दिउँसो दुई बजेसम्मलाई सारिएको थियो ।  तर, मङ्गलबार पनि सूचना टाँस गरी बुधबार बिहान आठ बजेसम्मका लागि सारिएपछि विद्यार्थी तथा प्रतिनिधिहरू रुष्ट छन् ।   नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका विद्यार्थी नेता तथा उम्मेदवार र प्रतिनिधिहरू निर्वाचनबाटै नेतृत्व छान्न पाउनुपर्ने माग गर्दै प्रचारप्रसारमा व्यस्त छन् ।  महानगरीय प्रहरीले महाधिवेसनका लागि सुरक्षा व्यवस्था पनि थप कडा पारेको छ ।

नेविसङ्घको ११ जिल्लामा समानान्तर कमिटी गठन गरिनुका साथै महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएकाले सो विवाद मिलाउन सोमबार र मङ्गलबार जारी असन्तुष्ट पक्षसँगको वार्ता टुङ्गोमा नपुगेपछि ‘बन्द सत्र’ दुईपटक स्थगित भएको हो । विवादित जिल्लाहरूमा विधि र प्रक्रियाबाट बनेको कार्यसमिति र महाधिवेसन प्रतिनिधिलाई मात्र अधिवेसनमा अवसर दिनुपर्ने र अन्य खारेज गर्नुपर्ने माग गर्दै छुट्टाछुट्टै विद्यार्थी समूह आमरण अनशन बसिरहेका छन् ।

उक्त विवाद मिलाएर महाधिवेसन सम्पन्न गर्न गठित केन्द्रीय सदस्य डा। प्रकाशशरण महतको संयोजक रहनुभएको निर्देशन समितिले असन्तुष्ट पक्षसँग वार्ता र संवाद जारी रहेको जनाएको छ ।  समितिका सदस्य एवम् केन्द्रीय सदस्य प्रदीप पौडेलले असन्तुष्ट पक्षसँग करिब ७० प्रतिशत कुरा मिलेको जानकारी दिनुभयो ।