viral joroचितवन २६ साउन ।  चितवनमा नयाँ प्रकारको ज्वरो ‘स्कोसटाइफस’ देखिएको छ ।  यो रोग चितवनमा पहिलोपटक पहिचान भएको हो ।  मुसाको जुम्रा ‘माइट’को टोकाइबाट मानिसमा यो रोग लाग्ने गर्दछ ।  “चितवन मेडिकल कलेजमा उपचार गराएका ज्वरोका बिरामीमध्ये ५३ जनामा स्कोसटाइफस देखिएको छ”, मेडिकल कलेजका व्यवस्थापक डा। दयाराम दाहाल भन्नुहुन्छ, “यो रोग लागेका बिरामीमध्ये दुई बालबालिका र एक बयस्कको मृत्यु भएको छ । ”

चितवन मेडिकल कलेजमा फेला परेका यी बिरामीमध्ये अधिकांश चितवनका हुन् ।  चितवनका मात्रै ३३ जनामा यो रोग देखिएको छ ।  छिमेकी जिल्ला नवलपरासी, रुपन्देही, मकवानपुरलगायत क्षेत्रबाट उपचारका लागि चितवन ल्याइएका बिरामी हुन् ।  यो तथ्याङ्क वैशाखदेखि साउनसम्मको हो ।  अहिलेसम्म यो रोगको परीक्षण जिल्लामा चितवन मेडिकल कलेजमा मात्रै हुने गरेको छ ।

उच्च ज्वरोसहित रुघाखोकी नै ‘स्कोसटाइफस’ को लक्षण हुन् ।  सुरुमा मुसाबाट सरे पनि पछि मानिस मानिसमा रोग सर्न सक्ने फिजिसियन डा। शशीजङ पाण्डे बताउनुहुन्छ ।  यो रोगको समयमा उपचार नभए मानिसमा स्वासप्रश्वाससम्बन्धी रोगहरू बढ्न सक्ने र बिरामीको शरीरका भित्रि अङ्गले काम नगरेर बिरामीको ज्यान जाने गर्दछ ।  मुसाबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने यो रोग १० दिनपछि बिरामीलाई लक्षण देखिन थाल्छ ।  ज्वरो आउने, टाउको दुख्ने, शरीरमा चालहरू आउनेजस्ता लक्षण देखिने यो रोगजस्तै लक्षण देखिएका बिरामी  अहिले उपचार गराउन आउनेकोे चाप चितवनका अन्य अस्पतालमा पनि बढी नै भेटिन्छन् ।