घोराही, २५ साउन । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी आश्रम शाखा दाङको दोस्रो अधिवेशन तथा साधारण सभा मंगलबार घोराहीमा सम्पन्न भयो । अधिवेशनले श्रीमन न्यौपानेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष शरद अधिकारी, सचिव भुमा चौधरी, उप सचिव समिरमणि गौतम, कोषाध्यक्ष रुपा वली र सह कोषाध्यक्षमा नारायणप्रसाद रिजाललाई चयन गरिएको छ । कार्यसमितिको सदस्यहरुमा किशोरचन्द्र गौतम, रेश्मीराज पाण्डे, भुपाल गिरी, विवेक खड्का, पम्फा नेपाली, भगवती बुढाथोकी, महेस रिजाल, शंभु गौतम, तिलसरा पुन, सीता पौडेल र बसन्त भट्ट हुनुहुन्छ । यस्तै निवर्तमान अध्यक्ष भोलानाथ योगी पदेन सदस्यका रुपमा हुनुहुन्छ । निर्वाचन अधिकृत केशवकुमार शर्माले सर्वसम्मत रुपमा निर्वाचित सवै पदाधिकारीलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
![20160809_123643[1]](http://indrenionline.com/wp-content/uploads/2016/08/20160809_1236431.jpg)
यस अघि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष मोहन महर्जनले दोस्रो अधिवेशनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै महर्जनले नेपालमा अपाङ्गहरुलाई अवसर दिने सवालमा राज्य पनि उदाशिन भएको बताउनुभयो । उहाँले अपाङ्गको हक हितका लागि सवैले खवरदारी गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै महर्जनले नेपालमा अपाङ्गहरुको हक हितका लागि पहिलो पटक आवाज उठाउने खगेन्द्र बस्नेतको योगदान उच्च रहेको बताउनुभयो । शारिरीक रुपमा अपाङ्ग बस्नेतको अगुवाईमा २०२६ सालमा खगेन्द्र नवजीवन केन्द्र स्थापना भएको स्मरण गर्दै महर्जनले नेपालका अपाङ्गहरुको हक अधिकारका लागि अपाङ्गता भएकाहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल अपाङ्ग संघका निर्वतमान केन्द्रीय अध्यक्ष गजेन्द्र लामा, पूर्व महासचिव यज्ञ उप्रेती, निर्देशक भूपति सिग्देल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रशिक्षक रामप्रसाद देवकोटा, रामवहादुर कुँवर, केशव कुमार शर्मा लगायतले बोल्नुभएको थियो । उद्घाटन सत्रमा सचिव चिन्तामणि आचार्यले सांगठनिक प्रतिवेदन र सह कोषाध्यक्ष भूमा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष श्रीमन न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन विवेक खड्काले गर्नुभएको थियो ।
यसैबीच नयाँ कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि सहयोग गर्ने सवै प्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकले जिल्लामा अपाङ्गता भएकाहरुको हक अधिकारका लागि कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ । बैठक नव निर्वाचित अध्यक्ष श्रीमन न्यौपानेको अध्यक्षतामा बसेको थियो ।
नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखाले दाङ जिल्लामा रहेर राप्ती अञ्चलकै अपाङ्गता भएकाहरुको हक हितमा काम गर्दै आएको छ । संघले अपाङ्गता भएका व्यक्तिहरुको पुनःस्थापनाका लागि सिपमूलक तालिमहरु तथा अपाङ्गता न्यूनिकरणका लागि विभिन्न गतिविधि संचालन गर्दै आइरहेको छ ।
![20160809_123643[1]](https://www.indrenionline.com/wp-content/uploads/2016/08/20160809_1236431-696x392.jpg)










