काठमाडौँ, २५ साउन । वर्षात्को समयमा बाढीपहिरो र डुबानका सम्भावित जोखिमपूर्ण घटनाबारे सर्वसाधारणलाई पूर्व जानकारी गराउने उद्देश्यले प्रभावकारी मौसमी सूचना प्रणालीको व्यवस्था गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले वर्षात्का कारण हुने प्राकृतिक प्रकोपका घटना न्यूनीकरण गरी जनधनको क्षति हुन नदिन यस्तो सूचना यन्त्र प्रणाली जडान गरेको हो । मुलुकका ४२ स्थानमा बाढीपहिरोजन्य घटनाको जोखिमबारे स्वचालित पूर्व सूचनायन्त्र प्रणाली जडान गरिएको विभागका महानिर्देशक ऋषिराम शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार यस्ता यन्त्र कन्काई, कोसी, वाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा जडान गरिएको छ । जडान गरिएकामध्ये आठ वटा बाढी र डुबानबारे जानकारी दिने नदी यन्त्र प्रणाली हिमालसमेत समेटिएका छन् भने बाँकी पहाडी क्षेत्रमा वर्षात्का आधारमा अत्यधिक वर्षाका कारण हुनसक्ने बाढीपहिरोका घटनाबारे जानकारी दिने यन्त्र छन् ।











