उदय बीसी / दाङ
स्थानीय तहको पुर्नसंरचनामा दाङलाई उपमहानगरपालिका बनाउने प्रस्ताव अघि सारिएको छ । नगरपालिकासँग जोडिएको केही गाविस र त्रिपुर नगरपालिका गाभदा जनसंख्याको आधारमा घोराही नगरपालिका उपमहानगरपालिका बन्न लायक हुन्छ । तर, पुर्नसंरचनामा उपमहानगरपालिका हुने अन्य आधार पनि तोकिएको छ । जसमध्ये एउटा हो, आधुनिक वधशाला । अहिलेको अवस्थामा घोराही नगरपालिकाभित्र व्यवस्थीत र आधुनिक वधशाला छैन ।
स–साना वधशाला त छन् ती वधशालाहरु न व्यवस्थित छन् न त मापदण्ड नै पुगेका छन् । यस क्षेत्रमा आधुनिक वधशाला निर्मणको अवधारना र योजना पनि नआएको होइन । आजभन्दा करीव तीन वर्षअघि सहरी विकास मन्त्रालयअन्तर्गत घोराही नगरपालिकाको कटुवाखोला किनारामा आधुनिक वधशाला बनाउने योजना परेको थियो । घोराही नगरपालिका वडा नं. ५ कटुुवाखोला किनारामा निर्माण हुुने भनिएको आधुुनिक पशुु बधशाला अहिलेसम्म अन्यौलमै छ ।
वधशाला निर्माण गर्ने ठाउँमा केही स्थानीयवासीहरुले विरोध गरेपछि निर्माणको काम अघि वढ्न नसकेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङले बताएको छ । ‘केही रुपमा स्थानीयहरुको पनि विरोध आयो, विभागको प्राविधिक टोलीले पनि त्यो भन्दा अनेत्रै जग्गा पाएपछि काम अघि वढाउने भन्यो’, भवन डिभिजन कार्यालय प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भन्नुभयो, ‘अहिलेसम्म काम शुरु भएको छैन ।’
उनका अनुसार वधशालाको योजना निरन्तर फलोअफमा रहेको र अहिले स्थानीयहरुको विरोध समेत समाधान भइसकेकाले अन्य स्थानमा उपयुक्त जग्गा नपाएमा सोही स्थानमा काम अघि वढ्नेछ । वधशाला निर्माणको काम शुरु नहुँदा दुई वर्षदेखि विनियोजन हुँदै आएको बजेट फ्रिज भएर जाने गरेको छ ।
वधशालाको लागि आर्थिक वर्ष २०७१/०७२ मा रु. ५३ लाख बजेट विनियोजित भएकोमा कामै नभएर फ्रिज भएर गएको थियो भने आव ०७२/०७३ मा पनि विनियोजन भएको ४५ लाख बजेट काम नहुँने भएपछि सहरी विकासले अनेत्रै स्तान्तरण गर्नुपरेको थियो ।
आधुनिक वधशालाको योजना फलोअफमै भएको र स्थानीयको समस्या केही समाधान भइसकेकाले पुनः जिल्लाका सम्बन्धीच सारोकारवाला निकायहरु, जिविस, नगरपालिका, नगर विकास समितिसँग समन्वय गरेर फेरि मन्त्रालयमा बजेटको माग गर्ने डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
सफा शहरअन्तर्गत निर्माण हुुन लागेको उक्त बधशालाका लागि घोराही नगर विकास समितिले दुई वर्षअघि नै अम्वापुुर जग्गा एकीकरण आयोजनाअन्तर्गत घोराही–५ कटुुवाखोला किनारामा रहेको एक विगाह जग्गा उपलव्ध गराइसकेको छ । बहुुवर्षीय योजनाअन्तर्गत निर्माण हुुने भनिएको सो पशुु बधशाला निर्माण गर्न रू. ५ करोडभन्दा वढी लगानी लाग्ने अनुुमान गरिएको छ ।
