
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सरकारले काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न सुरु गरेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषदको दोस्रो बैठकको निर्णयसँगै तीन बुँदे सहमति कार्यान्वयन गर्ने दिशामा अघि बढेको टिप्पणी गर्नुभयो । संविधान कार्यान्वयनको लागि राजनीतिक दलहरुवीच सहमति, सहकार्य र एकता अनिवार्य रहेकोमा जोड दिदै मन्त्री लेखकले संविधानको कार्यान्वयनको लागि पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको धारणा राख्नुभयो ।
लेखकले एउटा सरकारको ठाउँमा अर्को सरकार बनाउनका लागि मात्रै नयाँ सरकार गठन नगरिएको दाबी गर्दै सरकारले संविधानको सर्वस्वीकार्यता, संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत, पुनर्निर्माण, शान्ति सुव्यवस्था, सुशासन लगायतका राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।











