काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सुरक्षा दिन प्रहरी कार्यालयमा ल्याइयो हो ।

जबरालाई कुनै अभियोग वा आरोपमा पक्राउ गरिएको होइन । उहाँविरुद्ध कुनै उजुरी वा पक्राउ आदेशसमेत नरहेको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खड्काले स्पष्ट पारेका छन् । “उहाँको सुरक्षाका लागि नै तत्काल के गर्नेभन्दा यहाँ ल्याइएको मात्र हो । अब के गर्ने भन्ने निर्णय भएपछि सोहीअनुसारको सुरक्षा प्रदान हुन्छ,” एसएसपी खड्काले भने ।

२०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त भएका जबरा आफ्नो कार्यकाल विवादित बनेपछि २०७८ फागुन १ गते प्रतिनिधिसभामा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । त्यसपछि जबरा निलम्बनमा परेका थिए ।