दाङ । थारू समुदायले जन्माष्टमी (अस्टिम्की पर्व) पछि आउने दोस्रो आइतबार अट्वारी पर्व मनाउने परम्परा छ । सोहीअनुसार यस वर्ष भदौ २८ गते अट्वारी पर्व मनाइँदैछ । पुरुषहरूले विशेष रूपमा मनाउने यो पर्व वर्षमा एकपटक आउने भएकाले थारू समुदायमा यसको विशेष महत्त्व रहेको छ ।
अट्वारीका दिन दिनभरि व्रत बस्ने र साँझ भीमको नाममा पूजापाठ गर्ने प्रचलन छ । थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका–१४, भोजपुर निवासी चूर्णबहादुर चौधरीका अनुसार अट्वारीको तयारी अघिल्लो दिनदेखि नै सुरु हुन्छ ।
“अट्वारीको अघिल्लो रात माछा, गंगटा, घोङ्घी लगायतका परिकार पकाएर भिन्सर्या (दर) खाने चलन छ, भाले बास्नुअघि नै भिन्सर्या खाइसक्नुपर्छ । भाले बासेपछि भिन्सर्या जुठो हुन्छ भन्ने मान्यता छ”, उनले भने ।
भिन्सर्या खाएपछि अट्वारीको दिन दिनभरि व्रत बस्ने चलन छ। साँझ नुहाइधुवाइ गरेर गन्यारी काठबाट आगो निकालिन्छ । त्यसपछि गहुँ, चामल, अनदी चामल लगायतका पिठोबाट पाँचदेखि सात प्रकारका रोटी पकाइन्छ । रोटी पकाइसकेपछि व्रत बसेका परिवारका सदस्य घरको बह्री कोन्टी (बैठक कोठा) मा भेला भएर भीमको नाममा पूजापाठ गर्छन् ।
पूजाअघि आफ्नो भागमा परेको रोटी, फलफूल र दहीमध्ये केही अंश दिदीबहिनीका नाममा छुट्याएर खाने चलन छ । अट्वारीको दिन रोटी र फलफूलबाहेक माछामासु नखाने परम्परा रहेको चौधरी बताउँछन् । अट्वारीको दोस्रो दिनलाई फह्रार भनिन्छ । फह्रारका दिन बिहानै नुहाइधुवाइ गरी भात र तरकारी पकाउने गरिन्छ ।
तीनदेखि सात प्रकारका तरकारी पकाइने भए पनि त्यसमा मास र पवै साग अनिवार्य मानिन्छ । सबै परिकार तयार भएपछि पुनः बह्री कोन्टीमा भीमको नाममा पूजापाठ गरी आफ्नो भागको भात–तरकारीबाट दिदीबहिनीका नाममा छुट्याइन्छ । दिदीबहिनीका नाममा छुट्याइएको खानेकुरालाई थारू भाषामा ‘अग्रासन’ भनिन्छ । यही अग्रासन विवाहित चेलीबेटीलाई माइतीबाट लगेर दिने चलन छ ।
लुम्बिनी प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा
लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने अटवारी पर्वका अवसरमा प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ २८ गते आइतबार बड्का अटवारी पर्वको अवसरमा दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सार्वजनिक बिदा दिएको हो । यस्तै हरितालिका तीजको अवसरमा सरकारले प्रदेशभर भोलि सार्वजनिक बिदा दिएको छ ।











