दाङ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार रेवतीरमण शर्माले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेका छन् । बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्रको आधारमा तयार गरिएको संकल्प प्रस्तावमा समग्र र सन्तुलित विकासलाई मुख्य प्राथमिकता दिइएको उनले बताए ।

संकल्प पत्र सार्वजनिक गर्दै उम्मेदवार शर्माले यस क्षेत्रको विकास, नीतिगत सुधार र भ्रष्टाचार अन्त्यका लागि दरिलो पहल गर्ने अभियान केन्द्रित रहेको स्पष्ट पारे । चुनावका क्रममा गरिएका प्रतिबद्धता कार्यान्वयनका लागि नै हुने भन्दै उहाँले त्यसमा आफूहरू दृढ रहेको उल्लेख गरे ।

देउखुरी प्रदेश राजधानी भएको सन्दर्भमा योजनाबद्ध र दीर्घकालीन गुरुयोजनाअनुसार विकास आवश्यक रहेको उनको भनाइ छ । घोराही, लमही, गढवा र राप्ती लगायत ग्रामीण क्षेत्रलाई समान प्राथमिकतामा राख्दै विकासको सन्तुलन कायम गरिने बताइएको छ ।

प्रदेश राजधानी क्षेत्रको विस्तारसँगै राप्ती नदी किनारमा सुरक्षित तटबन्ध निर्माण गरी व्यवस्थित गरिने तथा नदी सभ्यतामा आधारित आधुनिक शहर विकास प्रक्रिया अघि बढाइने योजना सार्वजनिक गरिएको छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बड्का पथ, प्रगन्ना र नारायणपुर सिंचाइ प्रणालीलाई प्रभावकारी बनाइने जनाइएको छ । सतह सिंचाइ नपुगेका क्षेत्रमा डिपबोरिङ र भूमिगत पानीमार्फत सिंचाइ विस्तार गरिनेछ । किसानको पहिचान प्रणाली विकास गरी अनुदानलाई पारदर्शी र सहज बनाइने तथा देउखुरीमा कृषि मल कारखाना स्थापना प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाइएको छ ।

फलफूल बगैंचा विस्तार, स्मार्ट कृषि गाउँ, वातावरणमैत्री खेती र आधुनिक प्रविधिको प्रयोगमार्फत कृषिलाई आकर्षक पेशाका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । युवालाई सिपमूलक तालिम, स्टार्टअप नवप्रवद्र्धन कार्यक्रम तथा साना–मझौला उद्योग स्थापना मार्फत रोजगारी सिर्जना गरिने उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधारतर्फ उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक विस्तार, हुलाकी सडक जोड्ने कार्य, पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति र कोइलावास नाका सक्रिय बनाउने योजना समावेश गरिएको छ । वर्षायाममा हिलो र हिउँदमा धुलो हुने समस्या अन्त्यका लागि सडक मर्मत तथा कालोपत्रे अभियान सञ्चालन गरिने जनाइएको छ ।

शिक्षा क्षेत्रमा विद्यालय स्तरोन्नति, प्राविधिक शिक्षा विस्तार, क्याम्पसमा आवश्यक संकाय थप र दरबन्दी व्यवस्थापनमा पहल गरिनेछ । राप्ती प्राविधिक शिक्षालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने योजना सार्वजनिक गरिएको छ ।

स्वास्थ्यतर्फ लमही ट्रमा सेन्टरलाई विशेषज्ञ सेवासहित पूर्ण रूपमा सञ्चालनमा ल्याइने र भालुवाङ अस्पताललाई ५० शैयामा विस्तार गरी प्रभावकारी सेवा प्रदान गरिने उल्लेख छ ।