काठमाडौं । देशको पश्चिम क्षेत्रमा वर्षा र हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो क्षेत्रमा हल्का वर्षा र हिमपात भएको हो । गएराति बैतडी र दार्चुलामा वर्षा तथा डोल्पा, हुम्ला क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लम्बिनीका दाङसहितका जिल्लामा रातिदेखि हल्का वर्षा भइरहेको छ । आज बिहान देशका धेरैजसो ठाउँमा बादल लाग्ने र काठमाण्डौ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भागका केही ठाउँमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका थोरै ठाँउ र कोशी प्रदेशको तराइको एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशको उच्च पहाडी तथा हिमाली भागमा पूर्ण बदलीसहित कतै–कतै मध्यम हिमपात र वर्षाको सम्भावना छ ।











