दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ नयाँ बस्ती बस्ने वर्ष २८ को प्रदिप वलीलाई व्यक्ति हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गएको पुस १५ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित हापुर खोलामा घोराही ९ असरा बस्ने वर्ष ३२ को बिजय पौडेल घाइते अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा पौडेलको मृत्यु भएको थियो । पौडेलको घटनामा वली संलग्न भएको आशंका पाएपछि प्रहरीले खोजतलास गर्दै आएको थियो ।

सो क्रममा तुलसीपुर १६ रावत गाँउस्थित आफन्तको घरमा लुकिछिपि बसेको अवस्थामा माघ १२ गते वलीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई जिल्ला आदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।