दाङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा सञ्चालन भइरहेको सांस्कृतिक कार्यक्रमको नाममा पूर्ण रूपमा व्यावसायिक मेला–महोत्सव सञ्चालन गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

मगर संघ घोराहीले आयोजना गरेको सांस्कृतिक कार्यक्रमहरू आँफैैमा सकारात्मक, प्रशंसनीय तथा पर्यटन प्रवद्र्धनका लागि उपयोगी र सम्माननिय कार्य हुँदाहुँदै पनि सांस्कृतिक कार्यक्रमको आवरणमा गरिएको व्यावसायीकरणले स्थानीय उद्योगी तथा व्यवसायीहरूको हितमा गम्भीर नकारात्मक असर पारेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघले आइतवार एक विज्ञप्ती जारी गर्दै आपत्ति प्रकट गरेको हो । २०७९ मंसीर २१ गते घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको बैठकबाट व्यवसायिक महोत्सवका लागि दाङ उद्योग वाणिज्य संघ, दाङ चेम्बर अफ कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघले प्रत्यक वर्ष पालैपालो व्यावसायिक मेला सञ्चालन गर्ने सहमति भए पनि विभिन्न सांस्कृतिक मेलाको नाममा हुने व्यापारिक महोत्सवले स्थानीय व्यवसायीहरु मर्कामा परेको विज्ञप्तीमा उल्लेख छ ।

‘घोराही क्षेत्रमा कपडा, फेन्सी तथा खुद्रा व्यवसायीहरूको समग्र लगानी जोड़दा अरबौ रकÞम लगानी छ, प्राय बैंक कर्जाबाट समेत सञ्चालित यी व्यावसायीहरूका लागि पुस र माघ महिना मुख्य व्यापारिक सिजन हो । यही कारणले पुस–माघमा महोत्सव सञ्चालन नगर्ने र फागुन महिनादेखि मात्र मेला सञ्चालन गर्ने निर्णय सहमतिसमेत रहँदै आएको छ ।’

‘यस वर्ष सोही सहमतिअनुसार नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, जिल्ला शाखा दाङले व्यापारिक मेला सञ्चालन गर्ने तयारी गरिरहेको अवस्थामा, उक्त सहमति र निर्णयको उलग्घन गरि विभिन्न संस्थाबाट सांस्कृतिक मेलाको नाममा व्यावसायिक मेला सञ्चालन गर्न लागिएको जानकारी प्राप्त भए पश्चात् मिति २०८२ साल पुस ११ गते उपमहानगरपालिकाका नगर प्रमुखज्यू तथा जिल्ला प्रशासन कार्यालयका दाङका प्रमुख जिल्ला अधिकारीज्यूसमक्ष संयुक्त रूपमा ध्यानाकर्षण पत्रसमेत बुझाइएको थियो र “सांस्कृतिक कार्यक्रम मात्र सञ्चालन गरिने” भनी नगर प्रमुख ज्यु बाट पूर्ण प्रतिबद्धता प्राप्त भएको थियो । तर हाल उक्त मेलामा जलपरी, स्टल, बाल उद्यान, फेन्सी लगाएतका सामग्री बिक्री तथा कलाकारहरू सहभागी गराई पूर्ण रूपमा व्यावसायिक रूपमा सञ्चालन भइरहेको, साथै हालसम्म घोराही उप महानगर पालिकामा एक रुपैया समेत राजश्व असुली नभएको जानकारी प्राप्त भएको छ । आर्थिक पारदर्शिता र सरकारी आम्दानीका विषयमा गम्भीर प्रश्न उठेको छ’, विज्ञप्तीमा भनिएको छ ।

जिल्ला अध्यक्ष लव अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सहमति, निर्णय र प्रचलित कानुन विपरीत सञ्चालन भइरहेको यस्तो व्यावसायिक मेला–महोत्सवलाई तत्काल रोक लगाई, आवश्यक राजश्व संकलन गरी उक्त मेला बन्द गरिनु अत्यावश्यक रहेकाले मेला तत्काल बन्द गर्न माग गरिएको छ ।