काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएसँगै नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका सबै नेता-कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
सभापति थापाले विज्ञप्ति निकालेर नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका सहमत भएका वा नभएका सबैलाई संयमता अपनाउन, जिम्मेवार बन्न र एकताबद्ध बन्न आह्वान गरेका हुन् ।
उच्च आत्मविश्वास र तयारीका साथ अबको चुनावमा लाग्नुपर्नेमा थापाले बताएका छन् । पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेकाहरुबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने थापाको विश्वास छ ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्षले राजनीतिक र कानुनी लडाईँ लड्ने जनाएको छ । आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने संस्थापन पक्षको तयारी छ ।











