काठमाडौँ । नेपाल बार एसोसिएसनले रास्वपा सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको भन्दै आपत्ति जनाएको छ।

बारका महासचिव केदारप्रसाद कोइरालाले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो।

बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ।

“अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ”, बारले भनेको छ, “अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ।”

महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो ।