बाँके । सुत्केरी महिलालाई सुत्केरी भत्ता दिएको त हामीले सुनेकै थियौं । तर, अब गाईभैँसीलाई सुत्केरी भत्ता दिएको पनि हामीले देख्ने भएका छौं । पशुपालक किसानलाई गाईभैँसीको स्याहारसुसार गर्दै दुध उत्पादन स्थिर राख्ने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘पशु सुत्केरी भत्ता’ कार्यक्रम लागू गरेको छ ।

गाउँपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन भएको सो कार्यक्रमअन्तर्गत सुत्केरी गाईभैँसीका मालिकलाई नगद र पोषण सामग्री गरी दुई हजार बराबरको अनुदान उपलब्ध गराउन थालिएको हो । एक हजार नगद र अर्को एक हजार बराबरको भिटामिन, मिनरल र पशु आहार प्रदान गरिने गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख जयबहादुर कार्कीले बताए ।

उनका अनुसार गाउँपालिकाले कार्यविधिअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित किसानले निवेदन दिएपछि अनुदान प्रक्रिया अघि बढाइने छ । पशुपालनका लागि उपयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको राप्ती सोनारीका धेरैजसो घरपरिवार दूध उत्पादन, बाख्रा तथा गाईभैँसी पालनमा निर्भर छन् ।

सुत्केरी अवधिमा पर्याप्त पोषण र उचित स्याहार नपाउँदा पशुको स्वास्थ्य कमजोर हुने, बाच्छाबाच्छीको विकासमा असर पर्ने र दुध उत्पादन घट्ने समस्या वर्षौंदेखि देखिँदै आएको यसमा सुधार ल्याउन ‘पशु सुत्केरी अनुदान सञ्चालन कार्यविधि २०८१’ जारी गर्दै व्यवस्थित रूपमा कार्यक्रम अघि सारिएको शाखा कार्कीको भनाइ छ ।