रुकुम। प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुकुमपश्चिमबाट जनार्दन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार मुसीकोट नगरपालिका १ मा रहेको पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला संयोजक गोर्खबहादुर केसी ‘सन्देश’ले जानकारी दिए ।
२०६४ साल पछिका सबै निर्वाचनमा साविक माओवादीबाट लगातार जित्दै आएका शर्माले प्रलोपाको संरक्षक रहेर पार्टी गठन गरेका छन् ।
पछिल्लो समयमा प्रचण्डले माओवादी केन्द्र नै भंग गरेर एकीकृत समाजवादी लगायतका विभिन्न दलहरुसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि जनार्दनले प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका थिए ।
त्यस्तै रुकुम पश्चिमबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गोपाल शर्माको नाम एकल सिफारिस गरेको छ भने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले चन्द्रबहादुर बुढालाई सिफारिस गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ ।
अहिलेसम्म माओवादीबाट निर्वाचित हुदै आएका जनार्दन पार्टी विभाजन भएपछि कसको पल्ला भारी भन्ने चर्चा छ । एउटै पार्टीमा हुँदा गोपाल शर्मा पनि कर्णाली प्रदेशको संसद र मन्त्री समेत भइसकेका व्यक्ति हुन् । गोपाल जनार्दनभन्दा राजनीतिक हैसियतमा केही कान्छा भएपनि पार्टी विभाजनका कारण चुनावमा जनार्दनलाई शान्ति प्रक्रियापछि अहिलेसम्म जित्दै आएको रुकुम पश्चिम अबको चुनावमा केही महंगो पर्ने देखिन्छ ।











