दाङ । गएको मंसिर २० गते शनिबार लमहीको जुनतारा सुनचाँदी पसलमा एक व्यक्तिमाथि गोली हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले आज शुक्रवार पत्रकार सम्मेलन गरी गोली प्रहार गरी फरार भएका दाङको बंगलाचुली गाउपालिकाका ३३ वर्षका लेखराज केसीलाई पक्राउ गरेको जानकारी दिएको छ । केसी तुलसीपुर कारागारबाट जेनजी आन्दोलनका क्रममा भागेका कैदी रहेको खुलेको छ । उनलाई आज राजपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रुकुममा आपराधिक घटनामा संलग्न गरी १५ वर्ष कैद सजाय तोकिएका लेखराज २०८१ मा तुलसीपुर कारागारमा स्थानान्तरण भएका थिए । कारागारबाट भालेका कैदी केसी केही समय भारतमा रहेको र स्देश फर्किएर पुनः आपराधिक क्रियाकलापमा संलग्न भएको घटना क्रमले देखाएको जिल्ला प्रहरी कार्यादय दाङको प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले बताए ।

लमहीको जुनतारा सुनचादी पसलमा लुटपाट गर्ने उद्देश्यले सुन किन्ने ग्राहकका रुपमा आइ गोली प्रहार गरी फरार रहेका थिए । मंसिर २० गतेको घटनापछि लमहीकै होटेल प्यालेसमा आइ बसेको र पेस्तोल समेत लुकाइ छिपाइ राखी आफू त्यहाँबाट भागेको पनि खुलेको प्रहरीले जनाएको छ ।

मंसिर २० गते प्रयोग भएको पेस्तोल मंसिर २७ गते लमहीको होटेल प्यालेसमा फरसफाइका क्रममा पेस्तोल पड्किदा एक जना सामान्य घाइते भएका थिए । प्रहरीले घटनामा संलग्न भएको पेस्तोल र अन्य प्रमाण फेला पारी सार्वजनीक गरेको छ । होटलमा भेटिएको पेस्तोल लुकाउने र सुनचाँदी पसलमा गोली चलाएका व्यक्ति एउटै भएको अनुसन्धानबाट खुलेको छ ।