दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा आज पत्रकारहरूबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
मैत्रीपूर्ण खेलमा पत्रकारहरूलाई दुई समूहमा विभाजन गरी खेलाइएको महासङ्घका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए। समूह ‘ए’ र समूह ‘बी’बीच भएको प्रतिस्पर्धात्मक खेलमा समूह ‘ए’ले समूह ‘बी’लाई शून्यका विरुद्ध २ गोलले पराजित गर्न सफल भयो। समूह ‘ए’को जितमा कपिल लामिछाने र शालिक चौधरीले एक–एक गोल गर्दै महत्वपूर्ण योगदान दिएका थिए।
नवलपुर खेल मैदानमा भएको मैत्रीपूर्ण फूटबल खेलमा पत्रकारहरू सन्तोष सुवेदी, जेएन सागर, प्रकाश चौधरी, बसन्त परियार, सुमन केसी, हेमराज परिवर्तन, सरद अधिकारी, आरके शित्तल, लक्ष्मीमान चौधरी, शालिक चौधरी, सुशील चौधरी, दीपक वली, दीपक जिएम, लिलाधर वली, शान्तकुमार बुढा मगर, जङ्ग रेउले, माधवकुमार वली, कपिल लामिछाने, सागर सुवेदी, हिमाल विक, सन्तोष केसी र राजेश गौतम लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने रेफ्री, लाइन्सम्यान तथा खेल मैदान व्यवस्थापन टिमप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। महासंघले हिजो पुस १ गते स्थापना दिवसको पहिलो दिन रक्तदान कार्यक्रम गरेको थियो । महासंघले हरेक वर्षको पुस ४ गते आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।











