काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना गराएरै छाड्ने उद्घोष गरेका छन् । भक्तपुरको सल्लाघारीमा आज नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताए ।
ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने संकल्प समेत गरे । “अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ”, ओलीले भने ।
एमालेको भक्तपुरको उपस्थिति एउटा थोपा मात्र भएको भन्दै एमालेलाई होच्याउने र जिस्काउने काम नगर्न ओलीले चेतावनी दिए ।











