इन्द्रेणी संवाददाता
दाङ । पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङको २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पुस्तक तथा स्टेशनरी व्यवसाय शैक्षिक तथा बौद्धिक क्षेत्रसँग जोडिएको व्यवसाय भएको भन्दै यसलाई मर्यादित बनाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले पछिल्लो समयमा यो व्यवसायमा विभिन्न चुनौती र समस्याहरू थपिदै गएको उल्लेख गर्दै समस्या र चुनौतीहरूलाई निराकरण गर्न व्यवसायिक एकताको आवश्यकता औंल्याए । यो व्यवसाय शैक्षिक र बौद्धिक क्षेत्रसँग जोडिएकाले मर्यादित बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका उपाध्यक्ष बुद्धप्रसाद अधिकारीले महासंघ पुस्तक तथा स्टेशनरी व्यवसायीहरूका अधिकार प्राप्ती र समस्या सामाधान गर्नका लागि लागिपरेको उल्लेख गर्दै यसका लागि जिल्लादेखि प्रदेश र केन्द्रसम्ममा व्यवसायिक एकता आवश्यक रहेको बताए । अर्का विशिष्ट अतिथि पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेमानन्द शर्माले यो व्यवसायलाई व्यवसायिक मर्यादित राख्नका लागि व्यवसायीहरू नै जुट्नुपर्ने बताए । देशको अवस्थाका कारण पछिल्लो समयमा पुस्तक तथा स्टेशनरी व्यवसाय नै संकटमा पर्दै गएको भन्दै शर्माले सुधार गर्न सकिएन भने व्यवसायीहरू आफ्नो व्यवसायबाटै पलायन हुने अवस्था आउन सक्ने बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङका अध्यक्ष केशवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका निवर्तमान लुम्बिनी प्रदेश अध्यक्ष भैरवबहादुर रावल, पुस्तक तथा स्टेशनरी समिति रुपन्देहीका अध्यक्ष गोपाल बस्याल, सल्यानका अध्यक्ष डम्मर केसी, दाङ जिल्ला पूर्वअध्यक्षहरू लालमणि लम्साल, देवी प्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सम्मानित व्यक्तित्व पूर्णबहादुर मल्ललगायतले शुभकामना व्यक्त गरेका थिए ।

पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङका वरिष्ठ उपाध्यक्ष सन्तोष आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाको संगठानिक प्रतिवेदन सचिव प्रेम प्रकाश डिसीले प्रस्तुत गरेका थिए । कार्यक्रममा दाङमा पुस्तक तथा स्टेशनरी व्यवसायीहरूलाई संगठित गर्ने तदर्थसमितिका पदाधिकारी एवं सदस्यहरु, संस्थापक पदाधिकारी एवं सदस्यहरूलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव प्रेम प्रकाश डिसीले गरेका थिए । अधिवेशनले दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ ।