
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आइतबार औपचारिक रुपमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ताक्षर गरे ।
रास्वपातर्फबाट कार्यवाहक पार्टी सभापति डोलप्रसाद अर्याल र उपसभापति एवम् उच्च संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्ले तथा विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा र सो पार्टीका उपाध्यक्ष एवम् राजनीतिक संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले एकतापत्रमा हस्ताक्षर गरेका छन्। वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनको अभियानलाई थप मजबुत बनाउन एकता महत्वपूर्ण हुने उनीहरुको भनाइ छ।
उनीहरुबिच पाँच बुँदे सहमति पनि भएको छ। सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्वीकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवद्र्धनमा स्वर्गीय उज्जवल थापा एवम् विवेकशील अभियानको योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने उल्लेख छ।
“रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनसम्म लागि बनाइएको विशेष संयन्त्र संघीय नेतृत्व मञ्चमा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरुलाई आपसी समझदारीमा मनोनयन गर्ने, मञ्चका सदस्यहरुको वरियता केन्द्रीय समितिको सदस्य रहने, विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरुलाई केन्द्रीय , प्रदोशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मानिनेछ”, सहमति पत्रमा भनिएको छ।
साथै एकीकरणपछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टी रहने वार्ता समिति उपसंयोजक शिशिर खनालले जानकारी दिए।










