इन्द्रेणी संवाददाता
दाङ । दाङको लमहीमा नेपाली कम्यूनिष्ट पार्टीले आज एकता सन्देश सभा सम्पन्न गरेको छ । विभिन्न १५ कम्यूनिष्ट घटक मिलेर बनेको नेपाली कम्प्यूनिष्ट पार्टीको एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसयोजक माधवकुमार नेपाल, नेताहरु बामदेव गौतम, भिम रावललगायतले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका कमीकमजोरीलाई सच्याउदै जनताको चाहान अनुसार पार्टी अघि बढ्ने बताएका छन् । सुदुरपश्चिममा सभा सकेर दाङ आएका प्रचण्डले जुन हेर्दा जुनै राम्रो, घाम हेर्दा घाम नै राम्रो भन्दै आजको सभालाई उत्साजनक र भव्य भएको संकेत गरे ।
पटक पटक आफूहरु सचिएर जनतामाझ आएको भन्दै प्रचण्डले नेपाली कम्यूनिष्ट पार्टीलाई साथ दिन आग्रह गरे । एकताको प्रशंगमा प्रचण्डले माधव नेपालसँगको सहकार्य करिव ४० वर्षको निरन्तरता भएको भन्दै यो एकता हठातमा नभएको दावी गरे । उनले यो एकता सभालाई आत्मालोचना सभा र सङ्कल्प सभाको संज्ञा दिँदै विगतका कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पार्टीका सहसयोजक माधव कुमार नेपालले आफ्नो पार्टीको लक्ष्य र उद्देश्य समाजवाद निर्माण भएको बताए । नेपालले पनि प्रचण्डसँगको लामो संवाद र सहकार्य पछि पार्टी एक भएको भन्दै यस अघिको नेकपा पार्टी निर्माणको बेला पनि केपी शर्मा ओलीलाई सच्याउन कोशिस गरेको बताए । साथै उनले त्यतिवेला पनि प्रचण्ड र आफूले ओलीलाई चुनौती दिएको दावी गरे ।
त्यस्तै नेता वामदेव गौतमले मुलुक यो अवस्थामा ल्याउन एमाले अध्यक्ष केपी ओलीकै हात रहेको आरोप लगाए । अर्का नेता भिम रावलले पनि मुलुक गम्भीर संकटमा पुग्नुको दोष ओलीलाई नै लगाएका थिए ।











